काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनलाई राजिनामा बुझाएका हुन् ।
राजीनामा दिनअघि अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनले अर्थतन्त्रको जग वसालेर आफू विदा भएको बताए । उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको स्मरण गरे ।
राजस्व प्रशासनमा समेत सुधार भएको दावी गर्दै डा. खतिवडाले भ्याट फिर्ता खारेजीको निर्णयलाई सफल निर्णयका रुपमा लिएको संकेत गरेका छन् ।
अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् । राष्ट्रिय सभा सदस्यको म्याद सकिएकाले उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन ।
प्रधानमन्त्री केपी ओली खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे । तर पार्टीमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने दवाव बढेपछि प्रधानमन्त्री ओलीले गौतमलाई नै सिफारिस गर्ने प्रस्ताव गर्नु भएको छ ।
प्रधानमन्त्री ओली अर्थमन्त्री खतिवडालाई आज बसेको मन्त्रिपरिषद् वैठकमा मन्त्रिपरिषद् बाहिर बसेर सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन नसके मन्त्रीसरहको सेवा सुविधा दिएर आफ्नो आर्थिक सल्लाहकार बनाउने सोचमा रहेको चर्चा हुँदै आएको छ ।