काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै बर्तमान मन्त्रिपरिषदलाई पुनर्गठन नगर्ने संकेत दिएका छन । नेकपाका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको संघीय संसदको यात्रासँगै मन्त्रिमण्डल पुनर्गठनले बढी नै चर्चा पाउन थालेपछि प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन ।
नेकपाको बिहीवार बसेको सचिवालय बैठकले नेता गौतमको नाम सिफारिस गरेको छ । राष्ट्रपतिबाट मनोेनित हुने राष्ट्रिय सभाको रिक्त सदस्यमा उनको नाम सिफारिस भएसँगै बिभिन्न अडकलबाजी र अनुमानका समाचारहरु बाहिर आइरहेका छन । यसले गर्दा मन्त्रिमण्डलका सदस्यहरुलाई काम गर्नसमेत समस्यमा परेको बताइएको छ ।
हल्लाको पछाडि नलाग्न र आफनो काममा दत्तचित्त हुँदै ढुक्ककासाथ काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशनसमेत दिएका छन । प्रधानमन्त्रीको यो निर्देशनपछि मन्त्रीहरु उत्साहित देखिएका छन । राष्ट्रियसभा सदस्यको दुइवर्ष कार्यकाल सकिएर पुन नियुक्ति नभएका कारण अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री पद शनिवार बेलुकीबाट स्वत जानेछ । त्यसअघि शुक्रवार नै उनले राजीनामा दिने भएका छन ।
समाचारमाध्यमहरुले हचुवा र अनुमानका भरमा यो मन्त्रीको जागिर जाँदैछ र नयाँ आउने मन्त्रीका नाम र अनुहारका बारेमा समेत समाचार प्रकाशन तथा प्रसारण गरिरहेका छन । उनीहरुको पुर्व अनुमानहरुलाई प्रधानमन्त्री ओलीले शुक्रवारको मन्त्रिपरिषद बैठकमार्फत फिक्का बनाइदिएका छन ।
नेकपाको बिवाद समाधान गर्न गठन भएको कार्यदलले केहीदिन अगाडि बुझाएको प्रतिवेदनले पनि मन्त्रिमण्डल पुनर्गठनको लागि सुझाव दिएको थियो । यही कुरालाई मध्यनजर गर्दै अहिले मन्त्रिमण्डल पुनर्गठनबारे चाहिने भन्दा पनि बढी हल्ला र चर्चा चल्ने गरेको छ ।
नेता गौतमको संसद यात्रासँगै उनी मन्त्री बन्ने हल्लाले अहिले अलि बढी नै चर्चा पाउन थालेको छ । उनले यसअघि नै राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संबिधान संसोधन गर्न नेकपाका नेताहरुमाझ प्रस्ताव गरेका थिए । तर उनको यो प्रस्ताव पार्टीभित्र मात्र होइन बाहिर पनि निक्कै आलोचित बन्न पुग्यो । एउटा व्यक्तिका लागि संबिधान संसोधन गर्नु न्यायोचित नहुने भन्दै उनको प्रस्तावको सर्वत्र बिरोध पनि भयो ।
यसबाट पनि धेरै कुरा पुष्टि हुन्छ कि उनी राष्ट्रियसभामा जानको लागि मात्र यति धेरै मरिहत्ते गरिरहेका छैनन र होइन । अव छिट्टै उनलाई मन्त्री बनाइएन भने पार्टीमा बिद्रोह गर्नेछन । यही कुराको संकेत मिलेर नै मन्त्रिमण्डल पुनर्गठनको हल्ला फिंजाइएको हो । मन्त्रिमण्डल पुर्नगठन नभएर रिक्त मन्त्री पदमा मात्र नयाँ नियुक्ति हुन लागेको हो ।
तर अहिले नेता गौतमलाई सरकारमा नलगेको खण्डमा आकाश नै खस्ला जस्तो गरी कोकोहोलो मच्चाइएको छ । यो रहस्यमय बिषयको पोको बिस्तारै खुल्दै जाला । त्यसका लागि नेपाली जनता, नेकपाका कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुले बिस्तारै र समयको पर्खाइसँगैं थाहा पाउने छन ।