काठमाडौँ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको उपचारका क्रममा आज निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको कुरा उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका छन् ।
पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि मस्तिष्कको सर्जरीका लागि सैनिक अस्पतालमा भर्ना भएका थिए । सर्जरी भन्दा पहिला गरिएको कोरोना भाइरस परीक्षणमा पोेजेटिभ देखिएको थियो ।
अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड(१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड(१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।
शुरुमा शिक्षण र पत्रकारिता पेसा अँगालेका मुखर्जी राजनीतिमा प्रवेश गरेपछि झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका थिए । उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुनः निर्वाचित भएका थिए ।
सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका मुखर्जीले पटकपटक गरेर अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।