काठमाडौं । धनीदेखि गरीबको भान्सामा दैनिक सहजरुपमा प्रवेश पाउने तरकारीको मुल्य अकासिएर किन्न त परै जावस अहिले छुन पनि सकिने अवस्था छैन । उपत्यकामा निषेधाज्ञा गरिएसँगै झन तरकारीको मुल्य अचाक्ली बढेको छ । गएको चैतमा लकडाउन हुँदा उपत्यकामा अति नै सस्तिएको तरकारीको भाउ निषेधाज्ञापछि सर्वसाधरण नागरिकले किनेर खान नसक्ने गरी मंहगिएको अवस्था छ ।
यसअघि करिव चार महिना मुलुकमा लकडाउन हँुदा गोलभेडाको मुल्य १०–२० थियो । अहिले गोलभेंडाको मुल्य १ सय भन्दा माथि पुगेको छ । त्यो पनि तरकारी पसल पिच्छे मुल्य पनि फरक फरक रहेको छ । प्याजको मुल्य अहिले प्रतिकेजी ४०–५० रुपैंया रहेको छ यसअघिको लकडाउनमा रु २० मा सजिलै पाइन्थ्यो । बन्दको मुल्य २–५ रुपैया प्रतिकेजीमा पनि बिक्री नभएर त्यसै फाल्नु परेको गुनासो किसानहरुले गरेका थिए । १ सय रुपैयां धार्नीमा सजिलै पाइएको आलुको मुल्य अहिले १ सय ९० भन्दा माथि पुगेको छ ।
यसरी तरकारीको मुल्य बढनुमा उत्पादन हुने जिल्लाहरुमा निषेधाज्ञा हुनुलाई पनि अहिले कारण देखाउने गरिएको छ । तर उत्पादित जिल्लाहरुमा तरकारी बिक्री नभएर त्यसै खेर गइरहेको गुनासो किसानहरुले गर्ने गरेको समाचारहरु बाहिर आएका छन । तर संघीय राजधानी उपत्यकाका उपभोक्ताहरुले भने सहज र परल मुल्यमा किनेर खान पाइरहेका छैनन ।
बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएको बताएको छ । विभागका महानिर्देशक र निर्देशकहरुको टोली खटिएर तरकारीको अनुगमनमा निस्केको भएपनि देखिनेगरी परिणाम आउन सेकको छैन । गएको मंगलबार र बिहीबार गरी विभागले १५ वटा अनुगमन टोली बनाएर दर्जनभन्दा बढी ठाउँ ५०–६० वटा तरकारी पसलको अनुगमन गरेको बिभागले जानकारी दिएकोे छ ।
बिभागका अनुसार अनुगमनमा क्रममा काठमाडौं उपत्यकाका आसपासका तरकारी र उत्पादन हुने स्थानहरु लेले, बालकोट, कागेश्वरी मनोहरा, जोरपाटी, महाराजगंज, बसुन्धारा, चाबहिल, कलंकी, कीर्तिपूर, कुसुन्ती, सामाखुसी, मुलपानीलगायत क्षेत्रमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उपत्यकाभित्र तरकारीको मूल्यमा खासै भिन्नता नरहेको पाईएको बिभागले जनाएको छ । भारत र तराईलगायत जिल्लाबाट आएको तरकारी मुल्य केही महंगो रहेको र उपत्यकाका वासपास काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक जिल्लाबाट आएको तरकारीको मुल्य तुलनात्मक रुपमा सस्तो रहेको बभागको ठहर रहेको छ ।
तरकारी र दुधमा किसानले परल मुल्य नपाउने र जहिले पनि बिचौलियाहरुको दादागिरी चल्दै आएको छ । काठमाडौं उपत्यका भित्र सिमित मात्रामा टनेल खेती हुदैं आएको छ । ती ठाउँबाट बिचौलियाहरुले तरकारी उठाउनासाथ उपभोक्ताले प्रतिकिलो ३०–४० रुपैया बढि मुल्य तिर्नैैपर्छ । उपभोक्ताहरुको पहुँच सिधै किसानसँग पुग्न नसक्दा त्यसको फाइदा जहिले पनि हरेक साल बिचौलियाहरुले उठाइरहेका छन ।
विचौलियालाई तह लगाउन सबै स्थानीय निकाय र नियामकको भूमिका रहने भए पनि आपसी समन्वय अभावमा किसानसँग सस्तोमा तरकारी किनेर उपभोक्तालाई दोब्बर महंगोमा बेच्ने व्यापारी र बिचौलियाहरुको बिगबिगी बढिरहेका छ ।