काठमाडौं । आईतवार बैंकहरुको शाखाहरु धाउंदैमा सेवाग्राहीहरुको दिन बित्यो । बिहान १० बजे भक्तपुरको ठिमीबाट शेयर भर्नका लागि निस्केका हरिराम आचार्य सिधै सनराइज बैंकको केन्द्रिय कार्यालय पुगे । त्यहाँ आधा घण्टा लाइन बसेपछि बैंकको सुरक्षा गार्डमार्फत उनले पत्तो पाए शेयर काउन्टर काम गर्ने कर्मचारी नै उपस्थित भएका छैनन । चेक क्लियरिङ, नगद राख्ने र झिक्नेबाहेकका अन्य सवै सेवा स्थगित भएको जानकारी पाएपछि उनी अर्को शाखाबाट यो काम हुन्छकी भनेर कुपण्डोल हानिए । त्यहाँ पनि नगद कारोवार बाहेक अन्य सेवा बन्द रहेछ । त्यसपछि उनी आक्रोसित हुँदै भन्दै थिए, अव सिईओलाई फोन गरेर कुरा गर्नुपर्यो ।
आइतवार यसरी बैंक चाहादैं सेवा लिन खोज्न हिडेका अधिकारी एक्ला होइनन । ग्लोवल, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको हालत पनि उस्तै थियो । प्राय काम इन्टरनेटको माध्यमबाट भइरहेको घरबाट सेवा लिन अनुरोध गर्दै बैंक र बैंकका कर्मचारीहरु उम्किने गरेका छन ।
यसरी ग्राहकहरुलाई बिना जानकारी बैंकहरुले सेवा बन्द गरेपछि अहिले सर्वसाधरण निक्कै मर्कामा परेका छन । आफुले दुख गरेर बैंकमा जम्मा गरेको कमाईसमेत चाहिइएको र आवश्यकता परेका समयमा झिक्न सक्ने अवस्था छैन । उनै बैंकहरु सर्वसाधरणले लगेको ऋणको भाखा नाघेको भोलिपल्ट हर्जना रकम जोडेर लिन्छन । तर ग्राहकहरुले राखेको नगद र आफनो खाता रहेको बैंकमा पुगेर सेवा लिन खोज्दा दिनदहाडै फर्काउने र फर्किनपर्ने अवस्था जायज मान्न सकिदैन ।
गएको बुधवार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोही दिन राति १२ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरेका थिए । बिहिवारबाट लागु भएको शुरुको दिन काठमाडौं उपत्यकाका कुनै पनि बैंक तथा बित्तिय संस्था खुलेनन । कार्यालय हिंडेका बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुलाई सुरक्षाकर्मीले बाटोमा रोकेर अवरोध पुरयाएको भन्दै बिरोध स्वरुप बैंकर्स संघले बन्द गर्न निर्देशन दिएकोले नखुलेका हुन । शुक्रवारबाट नियमित रुपमा बैंकहरु खुल्ने जानकारी बैंकर्स संघले दिएको भए पनि अहिले त्यसो हुन सकिरहेको छैन ।
नियमित रुपमा आइतवारबाट आवश्यकताअनुसार बैंक तथा बित्तिय संस्थाहरु खुल्ने भनिए पनि खुलेका छैनन । आवश्यकता अनुसार बैंक तथा बित्तिय संस्था नखुल्दा सेवाग्राही धेरै मर्कामा परेका छन । उपत्यका भित्र एक जिल्लामा एउटा मात्र बैंकको शाखा खोल्ने नीति बैंकहरुले लिएको कारण सेवाग्राहीहरु धेरै मर्कामा परेको बताइएको छ ।