काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोनमा संवाद भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार करिब १० मिनेट कुराकानी भएको हो ।
प्रधानमन्त्री ओलीले १० अप्रिल २०२० मा भएको सम्वादकोे स्मरण गरेका थिए ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएका छन् ।
उनीहरुबीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल भएको बताइएको छ । कोभिड भाइरस रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको बताइएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका बताइएको छ ।
त्यस्तै सो अवसरमा उनीहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।