काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ ।
दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् ।
पौडेल, पोखरेल प्रधानमन्त्री ओलीपक्षका हुन भने शर्मा र भुसाल दाहाल पक्षका र रावल र पाण्डे माधव नेपाल पक्षका हुन । संयोजक पौडेलले भोलिदेखिनै काम शुरु गर्ने बताएका छन् ।