काठमाडौं । सरकारको नेतृत्व गरिरहेको सत्तारुढ नेकपाका सांसदहरुले पार्टीभित्र चलिरहेको अन्तर बिरोध रोकेर समाधान खोज्न नेतृत्वलाई दवाब दिन भन्दै दवाबस्वरुप हस्ताक्षर अभियान संचालन गरेका छन । पार्टीको माथिल्लो तहमा विध्वंशात्मक प्रकृतिको अन्तरबिरोध देखिएको भन्दै नेकपाका ६१ जना सांसदहरुले संयुक्तरुपमा हरुताक्षर गरेर अभियान अगाडि बढाएका हुन ।
पार्टीको शीर्ष नेतृत्व तहमा अहिले चलिरहेको गलत प्रवृत्ति रोक्नुपर्ने र उनीहरुले अहिलेको विवादको निकास दिन नसके आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने भन्दै सांसदहरुले तीन बुुँदे सहमति पत्र समेत सार्वजनिक गरेका छन् ।
आइतबार अपरान्ह सिंहदरवारमा पत्रकार सम्मेलन गरेर नेकपा सांसदहरुले शीर्ष नेतृत्वलाई विधि, पद्धति र प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेका छन् ।
नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल निकट सांसदहरुले खुल्लारुपमा पत्रकार सम्मेलन गरेरै आफनो धारणासहित सहमति पत्र सार्वजनिक गरेका हुन् ।
सांसदहरुको योजनाअनुसार पत्रकार सम्मेलन पहिलो चरण हो । शीर्ष नेताहरुलाई विधि, पद्धति र प्रक्रियाबाट समाधान खोज्ने हो भने निकास निस्कन्छ भनेर भनेका र्छौ’ केन्द्रीय सदस्य समेत रहेका सांसद गणेश पहाडीले पत्रकार सम्मेलनमा भने, ‘तर यो अन्तरबिरोध हल गर्न मुख्य नेताहरुले सक्नुभएन भने दोस्रो चरणमा सांसदले विकल्पसहितको प्रस्ताव ल्याएर हस्तक्षेप गर्नेछ ।’
अभियानमा संलग्न मध्येका खोटाङका अर्का सांसद विशाल भट्टराईले नेकपा विभाजनले देशमै संकट उत्पन्न हुने भन्दै त्यसलाई रोक्नका लागि हस्ताक्षर अभियान चलाएकोे बताए ।
‘नेकपा विभाजन भए अहिले शासन प्रणाली, संविधान र गणतन्त्रसमेत धरापमा पर्छ, पार्टी विभाजनका गतिविधिलाई रोक्नका लागि हस्ताक्षर गरेका हौं,’ भट्टराई भनाई छ । कार्यक्रममा सांसदहरु सुरेश राई, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, राजबहादुर बुढालगायतले आ–आफना धारणा राखेका थिए ।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक कुनै ठोस निर्णय बिना नै विवादमा परेर स्थगित हुँदै आएको छ भने २० असार यता बैठक बस्न सकेको छैन । नेकपाका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताद्धय नेपाल र खनाल पक्षधरहरुले बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अगाडि सारेपछि पार्टीभित्रको अन्तरबिरोध चर्केर सतहमा आएको हो । नेताहरुलाई मिल्नुको बिकल्प छैन भन्दै हस्ताक्षरकर्ता सांसदहरुले तीन–बुँदै प्रतिबद्धता जारी गरेका छन् । जुन यस प्रकार छ :
१. यसभन्दा अगाडि विगतमा हाम्रो पार्टीभित्र रहेका बिभिन्न बिचार समुहमा उपल्लो नेतृत्व तहहरुसंगै विभक्त भएतापनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामुहिक पहलकदमीमा हामी प्रतिबद्ध छौं ।
२. पाटीमा हुने र देखिने सबै प्रकार र रुपका अन्तर्विरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरु खोज्न हामी प्रतिवद्ध छौं ।
३. पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरर्विरोधलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाईन, पत्रपत्रिका, सामाजिक संजाल, सडक चोकहरु आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष–विपक्षमा अभिव्यक्ति दिनेमा सहभागि हुनेछैनौं र त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौ ।