काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर वालुवाटार फर्किएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको वार्ता पछि प्रधानमन्त्री ओली बालकोट गएका थिए । प्रधानमन्त्री ओलीलाई सोही घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘स्वागत गरेका थिए ।
साढे दुई वर्षको बीचमा तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीले भक्तपुरका बासिन्दा, जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरेको बताइएको छ ।
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताएका छन् ।
प्रधानमन्त्री ओली बालकोट आउने थाहा पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत त्यहाँ पुगेका थिए । प्रधानमन्त्री ओलीले उनीहरुसँग जिल्लामा कोरोना संक्रमणको अवस्था र कोरोनाविरुद्धको लडाइमा आवश्यक सहयोगको बारेमा जानकारी मागेको बताइएको छ ।
यसअघि माघमा बसन्त पञ्चमीको दिन पारेर निजी निवास बालकोट गएका ओली आज श्रावण शुक्लपूर्णिमाका दिन पारेर त्यहाँ पुगेका हुन ।
प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटालाई अब अढाई वर्ष ढुक्कसँग बस्न भनेका छन् । उनले आफू अढाइ वर्षपछिमात्रै स्थायी बसोबासका लागि फर्किने बताएको जानकारी त्यहाँ सहभागी एक नेताले दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाका नेताहरुसँग कुरा गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएका पछिल्ला छलफल परिणाममुखी हुन नसकेको स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग पार्टी भित्रको विवादबारे दाहालसँग भइरहेको छलफलबारे पूर्वमन्त्री बाँस्कोटाले चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले जेरी मिठो भयो अन्य कुरा त्यस्तै हो भन्ने जवाफ दिएका थिए । छलफल भोली पनि जारी रहने ओलीले बताएपछि बाँस्कोटाले ‘जेरी खाँदा सहमति भएन भोली तिते करेला खुवाउनु होला निष्कर्ष निस्कन्छ की’ भनेर ठट्टा गरेका थिए ।