काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) बाट केही दिअघि राजीनामा दिएका नेता सुनिलबहादुर थापालगायत नेपाली कांग्रेसा प्रवेश गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रमका बीच थापा सहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन्। उनीहरुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले माला लगाएर स्वागत गरेका थिए भने सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका छन्।
राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन राप्रपाका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफ्नो परिवारको ६७ वर्ष अघिदेखि कांग्रेससँग सम्बन्ध रहेको बताए। उनले बुवा सूर्यबहादुर २०१० सालमा नेपाली कांग्रेस धनकुटाको कोषााध्यक्ष रहेको स्मरण पनि गरे ।
कांग्रेसले लिएको प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू कांग्रेस प्रवेश गरेको बताउँदै थापाले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा अधिनायकवादी शक्ति बढेको आरोप लगाए ।
अवका केही दिनमा राप्रपाका विभिन्न जिल्ला कार्यसमितिका साथीहरु पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने दावी गर्दै थापाले त्यसको तयारी भइरहेको बताए ।
थापासँगै राप्रपा परित्याग गरेका विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, रामकृण भट्टराई, गिरिजालाल यादव, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, दिलिप राई, रामपदारत शाह, सुरेश बस्नेत, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, ईन्द्रबहनदुर तामाङ र नारायण राउत काँग्रेसमा प्रवेश गरेका हुन् ।
कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले अन्य नेताहरु पछि जिल्लाबाटै कांग्रेसमा प्रवेश गर्ने थापाले बताइएका छन् ।