काठमाडौं । यातयात व्यवस्था बिभाग अन्तर्गतका सेवा कार्यालयहरुले सेवाग्राहीलाई दुख दिने गरेका छन् । भक्तपुरको श्रृजनानगर सल्लाघारीमा रहेको यातयात सेवा कार्यालयले सेवाग्राहीलाई दैनिक रुपमा यसरी दुःख दिएको हो । अघिल्लो आर्थिक वर्ष र चालु आवको सवारी साधनको कर तिर्न गएका सवारी धनीले सजिलो गरी कर तिर्न नपाएको गुनासो गरेका छन् ।
सोमवार सवारी कर तिर्न गएका सयौं सेवाग्राही कार्यालय परिसरमा कर तिर्न नपाएपछि कर्मचारीसँग आक्रोसित हुँदै कराइरहेका थिए । आजको कोटा पूरा भएको भन्दै कर्मचारीले गेट बन्द गरेर भित्र पस्न नदिएपछि उनीहरु आक्रोसित भएका हुन ।
कोरोना संक्रमणलाई निहुँ बनाएर आफु मालामाल बन्न उनीहरुले टोकन प्रणाली लगाएका छन् । कर तिर्न आउने सवै सेवाग्राहीलाई लाइन लगाएर फटाफट कर लिनुपर्नेमा त्यसो गरिएको छैन ।
कर्मचारी बिचौलियासँग मिलेर नै सेवाग्राहीलाई फर्काउने र दुःख दिने गरिएको छ । दैनिक रुपमा टोकन प्रणालीमार्फत २ सय ५० जनाको र बिचौलियामार्फत त्यति नै संख्यामा कर लिने गरिएको छ । प्रति सवारी साधन तीनसयका दरले बिचौलियाहरुले सवारीधनीसँग रकम लिने गरेका छन् । आधा रकम बिचौलिया र आधा रकम कर्मचारीले हात पार्ने गरेको बताइएको छ । कर्मचारीले कार्यालय खुल्नै बित्तिकै बिहान १० बजे नै यो संख्यामा टोकन बाँडने र गेट लगाउने गरेका छन् । बाँडेको टोकन अनुसार मात्र सेवाग्राहीलाई पालोपालो भित्र बोलाएर कर लिने र बाँकी सेवाग्राहीलाई त्यसै फर्काउने गरिएको छ ।
सोमवार सवारी साधनको कर तिर्न गएका सयौं सेवाग्राही कार्यालय परिसरमा कर तिर्न नपाएपछि कर्मचारीसँग आक्रोसित हुँदै कराइरहेका थिए । आजको कोटा पुरा भएको भन्दै कर्मचारीले गेट बन्द गरेपछि उनीहरु रातो अनुहार लगाएर घर फर्किन बाध्य देखिन्थे । कर तिर्न नपाएर घर फर्कन लागेका तिनै सेवाग्राहीबाट सेवा कार्यालय वरपर रहेका इन्सोरेन्स कम्पनीका कर्मचारीले अहिले फाइदा उठाइरहेका छन् । उनीहरुले अतिरिक्त शुल्क लिएर बिना लाइन र झण्झट कर तिरीदिने गरेको पाइएको छ । उनीहरुसँग मिलेर कर्मचारीहरुले फाइदा उठाएका छन् ।
एक सेवाग्राही भन्छन् – “सीमित व्यक्तिलाई टोकन दिने र बाँकी सेवाग्राहीहरुको दलाल मार्फत नविकरण र सवारी कर लिने गरेका छन् । सेवाग्राहीसँग सिधै काम गर्दा कुनै शुभलाभ नहुने भएपछि कर्मचारीले कोटा प्रणाली लागु गरेका हुन । सेवाग्राहीलाई फिर्ता पठाउने र बिचौलियामार्फत काम गराउँदा थप आम्दानी गर्नका लागि कर्मचारीले हिजोआज यस्तो फर्मुला प्रयोग गर्ने गरेका हुन । यसो गर्दा शुभलाभ पनि हुने र सेवाग्राहीसँग फेसटुफेस हुनु पनि नपर्ने ।”
कार्यालय परिसर वरपर चार पाँचवटा जति बीमा कम्पनीका एजेन्टहरुले थर्डपार्टी बीमा गर्ने कार्यालय स्थापना गरेका छन् । यिनै कार्यालयका कर्मचारीहरु अहिले सरकारी कार्यालयका कर्मचारीको मध्यस्थकर्ता र बिचौलिया बनेर काम गरिरहेका छन् । उनीहरु बिहान बेलुकी सवारी धनीको बिलब्लुक संकलन गर्छन र ३ बजेपछि दक्षिणासहित कर्मचारीलाई काम लगाउँछन् । यो काम सेवा कार्यालय परिसरमा खुल्लारुपमा भइरहेको छ । तर सरोकारवाला निकायहरुले पुरै आँखा चिम्लेर बिचौलिया र भ्रष्ट कर्मचारीलाई संरक्षण गरिरहेको पाइएको छ ।
आइतवार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सार्वजनिक निकायका कर्मचारीले १ रुपैंया घुस लिएको पाइएपनि कारवारी गर्ने बताएका थिए । तर अख्तियारलाई नै चुनौती दिनेगरी दिनहुँ सेवा कार्यालयहरुमा खुल्लारुपमा यस्ता गतिबिधिहरु भइरहेका छन् । कर तिर्न गएका सर्वसाधारण नागरिकले अतिरिक्त शुल्क (घुस) खुवानुपर्ने बाध्यता छ । यसतर्फ यातायात व्यवस्था विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानु जरुरी छ ।