काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले सोमबार दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
प्रवक्ता गौतमले आ थपिएका समेत गरेर नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको बताए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमित निको भएर घर फर्केसँगै कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ पुगेको छ ।
नेपालमा कोरोना निको हुनेको प्रतिशत ७४.३५ रहेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । तीन जना मध्ये एक भारतीय नागरिक हुन ।
वीरगञ्जमाको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो।
त्यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ। उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए।


















