२०७२ असोज २ गते संविधानसभाबाट संविधान जारी भयो । त्यो बेला नेपालका राजनीतिक दल एकै ठाउँमा उभिएका थिए । संविधान जारी हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए । संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ ।
संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने उद्घोष गरेका कोइरालाले राजीनामा दिए । संविधान जारी भएपछि पहिलो प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भए । उनलाई तत्कालिन माओवादी, राप्रपा नेपाल, लोकतान्त्रिक फोरमलगायतका दलको समर्थन थियो ।
ओली प्रधानमन्त्री चुनिएका बेला संविधान जारी भएकोमा मुलुकमा आम नेपाली हर्षोल्लासका साथ खुशीयाली मनाईरहेका थिए भने अर्कातिर मधेशका नाममा राजनीति गर्दै आएका केही मधेशवादी दल संविधानको विरोध गर्दै तराईमा आन्दोलन चर्काएका थिए । उनीहरुको सहयोगका लागि भारतले नाकाबन्दी लगाएको थियो । नाकाबन्दी १९ औं दिन भैसकेको अवस्थामा अर्थात विषम परिस्थितिमा मुलुकको बागडोर सम्हालेका तत्कालिन प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक निकास दिदै भारतले लगाएको नाकाबन्दी खुलाएर छिमेकीसँगको सम्वन्धलाई सुमधुर बनाउँदै राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताका पक्षमा चट्टान झै उभिएका थिए । देश र जनतामाझ उनले देखाएको राष्ट्रवादी चिन्तनको नेपाली जनताले प्रशंसा मात्रै गरेनन् नेपाली जनताको ढुकढुकीमा बस्न सफल भए ।
देशमा राष्ट्रवादी र राजनीतिक दुरदृष्टि भएका नेताको खडेरी लाग्यो भनेर चर्चा चल्न थालेको बेला एमालेको नेतृत्व गरिरहेका ओली एकाएक नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेका हुन् । उनले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ डोर्याएका छन् । ९ महिना सरकारमा बस्दा उनले अहोरात्र खटेर देश र जनतालाई मार्गदर्शन गरेका थिए ।
नेपालको राष्ट्रिय राजनीतिमा वीपी कोइराला, मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेताहरुको योगदान आआफ्नै ढंगले इतिहासमा लेखिएको छ भने वर्तमान राजनीतिमा ओलीको योगदान उल्लेखनीय नेताको भन्दा माथि रहेको छ । ओलीकै कारणले गर्दा पनि संविधान बन्न सफल भएको हो । प्रमुख दलहरुबीच १६ बुँदे सझौता गराएपछि मात्रै संविधान बन्न सफल भएको हो । त्यसैले १६ बुँदेका सहजकर्ता, निर्णय क्षमतामा अब्बल, प्रष्ट वक्ता भएका कारणले नै आज उनी जनतामाझ लोकप्रिय छन् ।
नेपालको संविधान २०७२ बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण आज मुलुक संघीय संरचनामा गई एउटा नयाँ दिशामा अगाडि बढेको छ । जसको श्रेय प्रधानमन्त्री ओलीलाई नै जान्छ । नेपालको संविधान २०७२ जारी भएपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन सफल ओलीले भारतले लगाएको नाकाबन्दीमा नझुकी देश र जनताका लागि अहोरात्र खट्ने स्वाभिमानी र राष्ट्रवादी नेता बन्न सफल भए ।
२०७४ सालको निर्वाचनमा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि नेपाली जनताले तत्कालिन एमाले र माओवादी गठवन्धनलाई झण्डै दुई तिहाइ मत दिएका हुन् । नेपाली जनताको आशा र भरोसाको केन्द्र हुन ओली ।
समृद्ध मुलुक, सुखी नेपालीको नारा दिएर नेपाली जनताको जीवनस्तर उकास्दै समृद्ध मुलुक बनाउने अभियानमा लागेका ओलीका कारण आज मुलुकले एउटा विकासको मार्गचित्र तय गरेर अगाडि बढिसकेको छ । मुलुकले आर्थिक विकास र समृद्धिको बाटो तय गरिसकेको छ र परिणाम आउन थालिसकेको छ ।
छिमेकी मुलुक भारत र चीन मात्रै होइन, अन्य शक्तिशाली राष्ट्र र अन्य सबै राष्ट्रहरुसँग सुमधुर सम्वन्ध कायम गर्न सफल प्रधानमन्त्री हुन केपी ओली । आज छिमेकी राष्ट्रहरु समान हैसियतको व्यवहार प्रदर्शन गर्न थालेका छन् । यो नेपाल र नेपालीको लागि गौरवको विषय हो ।
माओवादी एकता केन्द्रसँग एकीकरण गरि एउटा बलियो र शक्तिशाली कम्युनिष्ट पार्टी बनाएर दक्षिण एसियामा एउटा उदाहरण प्रस्तुत गर्नु भएका नेता हुन् ओली । त्यही शक्तिशाली पार्टीको अध्यक्ष समेत रहेका छन् प्रधानमन्त्री ओली ।
यो सानो दिमाग र संकीर्ण सोचको मानिसले गर्न सक्ने विषय होइन । केपी ओली दुरदर्शी भिजन भएको, फराकिलो र सकारात्मक सोच भएका व्यक्ति हुन् । केपी ओली जस्तो राजनेता मुलुकले न हिजो पाएको थियो न त भोलि पाउने छ । त्यसैले अहिलेको अवस्थामा सरकार परिवर्तनका कुरा गर्नु प्रधानमन्त्री ओलीले भने झै ‘मौरीसँग उडे फुलवारीमा पुगिन्छ, झिंगासँग उडे फोहोरमा’ । माधव नेपाल, झलनाथ खनाल, प्रचण्डहरु कतै झिंगासँगै उड्न खोजेका त छैनन् ?