काठमाडौं । सरकारलाई काम गर्न नदिएर अलमल्याउने काम नेकपाका केही नेताहरुबाटै भइरहेको छ । नेकपाका अध्यक्ष एवम् बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई असफल पार्ने काम जिम्मेवार नेताहरुबाट किन भइरहेको छ ? नेपाली जनताले समय आएसँगै त्यसको हिसाव–किताव खोज्ने र गर्ने नै छन् ।
नेपालमा अहिलेसम्म बनेका सरकारले ५ वर्ष अर्थात पूरा कार्यकाल काम गरेर बिदा भएको इतिहास छैन । स्थायी सरकार निर्माणका लागि जनताले नेकपालाई झण्डै दुई तिहाइ मत दिएर सरकारमा पुर्याएका हुन् । ओलीप्रति आशा र भरोसाले नै नेकपाप्रति जनता आकर्षित भएका हुन भन्ने कुरा सूर्य झै छर्लङ्ग छ । सरकारले जनताको आशा पूर्णरुपमा पूरा गर्न नसकेपनि राष्ट्र, राष्ट्रियता र जनताको सरोकारमा धेरै काम गरेको छ ।
ओली सरकारले छिमेकी मुलुक भारतले ६५ वर्षदेखि हडप्दै आएको नेपाली भुमीलाई नक्शासहित प्रकाशित गरेर फिर्ता ल्याउने कोशिष जारी राखेको छ । लिपुलेक, कालापनी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुका साथै संसदबाट सर्वसम्मत अनुमोदन गरेपछि त्यसको श्रेय जनताले प्रधानमन्त्री ओलीलाई दिएका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको निर्देशनमा नयाँ नक्सा जारी भएको दावी गरेका छन् । उनको दावीलाई धेरैले खण्डन गर्दै आफू प्रधानमन्त्री हुँदा किन ती भूभाग समेटेर नक्सा जारी नगरेको त ? भन्ने प्रश्न गरेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले त सामाजिक सञ्जालमार्फत दाहालको सो भनाइप्रति प्रश्न गर्दै लेखेका छन् – “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?”
भारतसँग अहिलेसम्म नेपालका कुनै पनि सरकार र प्रधानमन्त्रीले यसरी प्रष्ट र खुल्ला रुपमा बोल्न आँट गरेका थिएनन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले त्यो आँट गरेको छ । प्रधानमन्त्रीको यो साहसी कदमलाई लिएर नेपाली जनताले स्यालुट ठोकेका पनि छन् । ओली सरकारले राष्ट्र र राष्ट्रियता माथि देखाएको यो अदम्य साहसको मुलुकभित्र प्रशंसा भइरहेको पनि छ । राष्ट्रिता बलियो भएको र सरकारले गरेको राम्रो कामको समर्थन गर्न नसक्नेहरु नै सरकार र नेकपाको बिरोध गरिरहेका छन् । सरकारको विरोधमा नेकपाकै केही नेताहरु पनि प्रयोग भइरहेका छन् । सरकारले राम्रो काम गर्दै गयो भने पार्टीभित्र आफ्नो हैसियत र अस्तित्व गुम्लाकी भन्ने डर पालेर हिंडेकाहरु नै अहिले अत्तालिएका मात्र छैनन् समुह बनाएर सरकार ढाल्न षडयन्त्र रचिरहेका छन् ।
प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन भन्दै न्वारानदेखि बल प्रयोग गरिरहेका छन्, नेकपाकै वरिष्ठ नेताहरु । नेपाली जनताले यो कुरा राम्ररी बुझेका छन् । ०७२ सालमा पहिलोपटक ओली प्रधानमन्त्री बन्नुभएको थियो । त्यो बेला भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीको ओलीले संमयमित भएर सामना गर्नुभयो र नाकाबन्दी खुलाउनु भयो । त्यो बेला प्रधानमन्त्री ओलीको चारैतिरबाट वाहीबाही भएको थियो ।
दोश्रो पटक २०७४ फागुनमा ओली प्रधानमन्त्री बनेपछि पनि उहाँसँग नेपाली जनताले धेरै नै आशा र अपेक्षा बोकेका छन् । सरकारको आधा कार्याकाल मात्र पूरा हुन लागेको छ । यसबीचमा सरकारले मुलुक निर्माणको लागि आवश्यक पर्ने कानुनहरु बनाइसकेको छ । अव त्यसलाई कार्यान्वयनको चरणमा सरकार प्रवेश गरेको छ ।
तर सरकारले केही पनि गरेन भन्दै नेकपाबाटै खुल्लारुपमा चुनौती दिदै सरकारको बिरोध गर्ने काम व्यापक रुपमा भइरहेको छ । राम्रो काम गर्दागर्दै र जनताको मन मनमा बसिरहेको अवस्थामा उल्टै बद्नाम गरेर सरकार असफल भएको पगरी गुथाउन पार्टी भित्रको एउटा समुह खुलेरै लागेको छ । खासगरी नेकपामा दोश्रो अध्यक्षको वरियतामा रहेका पुष्पकमल दाहाल प्रचण्डले नै यो समुहको अगुवाई र नेतृत्व गरिरहेका छन् ।
२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले दशकौं पछि २०७४ साल मंसिरमा भएको आम निर्वाचनबाट नयाँ इतिहास रच्दै झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको छ । इतिहासमा बिरलै प्राप्त हुने यो अवसर नेकपालाई पहिलो पटक मिलेको हो । यस्तो ऐतिहासिक अवसरलाई गुम्न नदिन भन्दै बिरामीका बावजुत पनि बर्तमान प्रधानमन्त्री रातदिन नभनिकन खटिइरहनु भएको छ । तर उहाँलाई सहयोग गरेर राम्रो काम गर्न सल्लाह र सुझाव दिनुको सट्टा पार्टीभित्रबाट नै असहयोग गरेर खुट्टा तान्ने प्रबृति र काम भइरहेका छन् । निश्चय नै यो राम्रो काम हुँदै होइन ।
यही सरकारलाई ५ वर्ष काम गर्न दिएर सहयोग गर्नु नै अहिले उत्तम बिकल्प हो । बर्तमान सरकारलाई राम्रा काम गर्न प्रोत्साहित गर्नुपर्छ । नेकपाभित्र अहिले देखिएको आन्तरिक कलह कुनै सैद्धान्तिक लडाईं होइन । केवल कुर्सीको लडाईं मात्र हो । भनिन्छ केही पाउन केही गुमाउनै पर्छ । प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतमहरुले कुर्सी प्राप्त गर्नको लागि बिचार र सिद्धान्त गुमाउनु हुँदैन । प्रधानमन्त्री ओलीले बिचार र सिद्धान्त कायम राखेर नै अहिलेको अवसर प्राप्त गर्नु भएको हो ।