काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताउनुभयो ।
उहाँले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताउनुभयो । ‘‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हँुदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन ।”
उहाँले सञ्चारमाध्यमलाई पनि कानूनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताउनुभयो । कोभिड–१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उहाँले कतिपय सञ्चारमाध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताउनुभयो । “साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछाँै, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्गबाट सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउनेछैन ।”
सञ्चारमन्त्री डा खतिवडाले सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिनुभयो । उहाँले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्गले वितरण गरिनेसमेत जानकारी दिनुभयो । छलफलमा सांसद गणेश पहाडी र जीपछिरिङ लामाले कोभिड–१९ का कारणले श्रमजीवी पत्रकार बेरोजगार हुननहुने बताउनुभयो ।