काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी वैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । वैठकले लगातारको वर्षा पछि आएको बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुका साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्ने प्रस्ताव पास गरेको छ ।
वैठकले लगातारको बाढी पहिरोका कारण डुबानबाट भएको क्षतिका साथै प्राकृतिक विपतमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गदै छिटो राहत र उद्धारमा जुटन सवैलाई आहवान गरेको छ ।
नेकपाको आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन आह्वान गरेको छ ।
नियमित अन्य कार्यसूचीमा छलफल नभए पनि आजको स्थायी कमिटी बैठकले प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीनलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालू गर्न बैठकले आग्रह गरेको छ ।
गत असार १० गतेदेखि शुरु स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्तावमा गत जेठ ३० गते मनसुन शुरु भएयता भएको लगातारको वर्षाका कारण देशका विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएको जनाइएको छ । प्राकृतिक विपत्तिका कारण आजसम्म २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको तथा ९९ जना घाइते भएका छन् । दुई सय ८२ भन्दा बढी घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारविहीन र विस्थापित भएका छन् । तराईका विभिन्न भूभाग डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुल क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पनि त्यसअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको थियो ।