काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक साउन ६ गतेसम्मका पुनः स्थगित भएको छ।
आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको नेकपा कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक केही दिन चलेर पटकपटक स्थगित हुँदै आएको छ । वैठकमा बोल्ने अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहका नेताहरुले केपी शर्मा अोलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ र पछिल्लो पटक साउन २ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।
बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
शनिबार अध्यक्ष ओली मंसिरमा महाधिवेशन गरेर नेतृत्व छाड्ने प्रस्ताव गरेपछि त्यसमा अर्का अध्यक्ष दाहाल सहमत भएपनि वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु असहमत देखिएका छन् ।
आज बिहान आफ्नै निवास दाहाल निवास खुमलटारमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनला, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको बताइएको छ । यसअघिका वैठकमा सहभागी हँुदै आएका सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा भने आजको दाहाल समूहको वैठकमा सहभागी भएनन् । उनीहरु सहभागी नहुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।