काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्दैछ । वाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण एक साताका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्न लागेको नेकपाका नेताले बताएका छन् ।
यसअघि पार्टी भित्रको आन्तरिक विवादका कारण पटकपटक वैठक स्थगित हुँदै आएको थियो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब कुमार नेपालबीच हिजो पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि छलफल भएको थियो । नेतात्रयबीचको छलफल सकारात्मक भएको भनिएपनि कुनै सहमति भने हुन सकेको छैन ।
१५ दिनमा नौ पटक अध्यक्षद्वयवीच छलफल भएपनि सहमति जुट्न सकेको छैन । पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट केपी ओलीले राजीनामा दिनुपर्ने अडान राखेपछि विवाद मिल्न सकेको छैन । ओलीले दुवै पदबाट राजीनामा नदिने स्पष्ट गरिसक्नु भएको छ । ओलीले अध्यक्ष चाहिए महाधिवेशन पर्खिन र प्रधानमन्त्री चाहिए आम निर्वाचन पर्खिन दाहाललाई सुझाव दिनु भएको छ । कोरोना कहर, अतिक्रमित भूमी फिर्ता, नागरिकता विधेयक, एमसीसी सम्झौतालगायतका यावत काम गर्नुपर्ने अवस्थामा पार्टीभित्र विवाद खडा गरेर ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्नु गलत भएको वुद्धिजीवी, विपक्षी दलका नेता, सत्तारुढ दलकै नेता तथा सर्वसाधारणहरुले समेत बताउँदै आएका छन् ।