काठमाडौं । सरकारले छोटो दुरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । नियमित पत्रकार सम्मेलनमा आ सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले दिएको जानकारी अनुसार सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताउनु भएको छ ।
प्रवक्ता खतिवडाका अनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने छ ।
मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने पनि बताउनु भएको छ ।
ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्ने बताइएको छ ।
आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने प्रवक्ता खतिवडाले बताउनु भएको छ ।