काठमाडौं । नेपालमा कूटनीतिक, आर्थिक र राजनीतिक रुपमा मात्र होइन, सामाजिक जीवनमा समेत समस्याहरु थपिदै गएका छन् । वितेका झण्डै चार महिनामा युवाहरुमा बढेको निराशाले एक हजार तीन सय भन्दा बढीले आत्महत्या गरेको तथ्यांकले देखाउँछ ।
कोरोना जस्तो विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारले गरेको प्रयासहरु पर्याप्त छैनन् भन्ने टिप्पणी आइरहेका छन् भने जनता र राष्ट्रको हितमा केन्द्रित हुनुपर्ने जिम्मेवार व्यक्तिहरु भ्रष्टाचारमा लागेको भन्दै उनीहरुको पनि आलोचना पनि भइरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रतिवद्धता पटकपटक जनाउनु भएको छ । उहाँले भ्रष्टचार भएको बारेमा सम्वन्धित निकायलाई अनुसन्धान गर्न लगाउनु भएको बुझिएको छ । प्रमाणित भएमा जोसुकैलाई कारवाही हुनेमा ढुक्क हुन सकिन्छ ।
कोरोना महामारी, सलह किराको विगविगि र सत्तारुढ दलमा भइरहेको सत्ताको खिचातानीले नेपालमा एक किसिमको संकटकालिन अवस्था देखिएको छ । सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेलमा सत्तारुढ दलका जिम्मेवार नेताहरु नै लागेका छन् ।
राष्ट्र संकटमा परेको बेला सबै मिलेर काम गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । तर नेपालमा त्यस्तो देखिएन । भारतले मिचेको भूमि फिर्ता ल्याउने पर्ने, नागरिकता विधयेक पारित गर्नुपर्ने, एमसीसीबारे निर्णय गर्नेपर्ने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने जस्ता महत्वपूर्ण काम गर्नुपर्ने दायित्व लिएको सरकार र पार्टीभित्र सत्ताको खेल हुँदा जनता निरास भएका छन् भने सरकार विरोधी देशीविदेशी शक्ति हौसिएका छन् । सत्ता परिवर्तनको खेल नक्सामा थपिएको चुचो मेटाउन त होइन भन्ने प्रश्नहरु पनि सामाजिक सञ्जालमा आइरहेका छन् ।
दामोदर पाण्डेलाई प्रमुख मुख्तियार तथा सेनापति पदबाट मुक्त गराएर भद्रकाली नजिकै मृत्युदण्ड दिँदा सैनिक अधिकारी प्रवल रानामगर समेत मारिने अवस्थामा थिए । उनी कुनै बहानामा त्यहाँबाट भागेर बनारस पुगे । त्यहाँ रहेका दिननाथ उपाध्याय प्रधानमन्त्री तथा प्रधानसेनापति भीमसेन थापाका घोर विरोधी थिए ।
उपाध्यायले प्रवल रानामगरलाई भीमसेनका विरुद्ध मोर्चाबन्दी गर्नुपर्छ भनेर उकासे । त्यसबेला प्रवलले भनेका थिए, ‘भीमसेन मेरा ठूला विरोधी हुन्, मलार्ई मार्न खोजे । तर भारतमा शासन गरिरहेका अंग्रेजहरुविरुद्ध लडाइ गर्न हामीलाई उनकै नेतृत्व आवश्यक छ । तसर्थ देशभक्तिका कुरामा व्यक्तिगत आग्रह, पूर्वाग्रह मिसाउनु हुँदैन ।”
अहिलेको अवस्थामा राजनीतिक दलहरुले प्रवल रानामगरका तिनै वचन हेक्का राखे पुग्ने बताउँछन् राजनीतिक विश्लेषकहरु । को सत्तामा जाने वा नजाने भन्दा पनि राष्ट्रको रक्षा कसरी गर्ने भन्ने महत्वपूर्ण सवाल खडा भएको उनीहरु बताउँछन् । राजनीतिक विश्लेषकहरु भन्छन् “यो बेलामा सबै नेपाली एकढिक्का हुन सके मात्र राष्ट्रको रक्षा हुन सक्ने सक्छ । नत्र काठमाडौं, अर्को कावुल बन्न सक्छ ।”