काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ भने सचिवलायका नेताहरुबीच वार्ताको तयारी भएको एक नेताले बताएका छन् ।
पार्टीभित्रको सत्ता संघर्ष अन्त्य हुनुपर्ने र पार्टी एकतालाई थप मजवुत बनाउनुपर्ने नेता, कार्यकर्ताको दवाव छ भने युवाहरुले सरकार परिवर्तन नगर्न चेतावनी दिँदै प्रदर्शन पनि शुरु भएको छ ।
नेकपाका स्थायी कमिटी वैठकमा अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल समूहले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न दवाव दिएपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले कोरोना भाइरसको महामारी, सीमा विवाद, नागरिकता विधेयक जस्ता जटिलता का बीच सरकार परिवर्तनको खेलमा नलाग्न नेताहरुलाई चेतावनी दिएका छन् ।
प्रतिपक्षी दलहरुले पनि सत्ता परिवर्तनको खेलमा नलाग्न सत्तारुढ दलका नेताहरुलाई सुझाव दिइरहेका बेला युवाहरुले स्वतःस्फुर्त रुपमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।वर्तमान सरकारले राष्ट्र र जनताका पक्षमा राम्रो काम गरिरहेको अवस्थामा केही नेताको निजी स्वार्थ पूरा गर्न र भारतीय चलखेलका आधारमा केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने खेल भएको भन्दै युवाहरुले विरोध गरेका छन् । उनीहरुले नेकपाका नेताहरुले सरकार परिवर्तनको खेल बन्द गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई सत्ता नछाडन दबाब पनि दिएका छन् ।