काठमाडौं । सत्तारुढ दलभित्र चर्किएको विवादले मुलुकलाई गम्भीर मोडमा पुर्याउने चेतावनी राप्रपाका अध्यक्ष कमल थापाले दिएका छन् । नेकपाभित्र सरकार ढाल्न भइरहेको खेलप्रति इंगीत गर्दै थापाले सामाजिक सञ्जाल ट्वीटमा भनेका छन्, “सीमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ।”
जनताले अस्थिरता अन्त्यका लागि पाँच वर्षका लागि सरकार सञ्चालनको म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष थापाले सरकार परिवर्तनको खेलमा नलाग्न सुझाव दिएका छन् । उनले भनेका छन् “५ बर्षको लागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस् ।”