काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताउनु भएको छ । जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन दूतावासको सक्रियतामा होटलमा विभिन्न गतिविधि भएको खुलासा गर्नुभयो ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आजका लागि मात्र नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’
आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको बताउनु भयो । पहिला आफ्नो पार्टीसँग वहुमत नभएकाले त्यो षडयन्त्र सफल भएपनि अहिले वहुमत भएकाले षडयन्त्र सफल नहुने स्पष्ट पार्नु भयो ।
उहाँले आफूविरुद्ध षडयन्त्र नगर्न चेतावनी दिँदै भन्नुभयो “नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।”
प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले आफ्ना लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताउनु भयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।”
“नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन ।” उहाँले भन्नुभयो, “हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।”
उहाँले हाल कोरोना भाइरसको अस्थायी संकट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गर्नुभयो । “हुन त विरोधीहरुले माक्र्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजीकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।”
जबज माक्र्सवादमा आधारित गतिशील र नेपालको एक्काइसौँ शताब्दीलाई अत्याधिक प्रभावित पार्न सक्ने विचार भएको जनाउँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले २०४८ सालमै संसद्मा मिचिएको कालापानीलगायत भूमि नेपालको भएको सुपष्ट विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले विचार,वक्तृत्वकला, शैली र अनेक प्रतिभाका कारण जननेता भण्डारी नेपाली राजनीतिमा एक्काइसौँ शताब्दीका नायक भएको उल्लेख गर्दै त्यही विचारका जगमा अहिले आफूहरुले सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो ।