काठमाडौं । चीन – भारत सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही रहेका छन् ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि सन् १९७५ पछि नियन्त्रण रेखामा सोमबार राति गोली हानाहान भएको हो । गोली चल्दा भारतीय सेनाको ज्यान गएको हो ।
एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।
भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको जनाइएको छ ।
दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।
११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।
























