काठमाडौं । शनिबार बसेको प्रतिनिधिसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि भएको मतदानमा २५८ मत खसेकोको थियो । संशोधनका पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् ।
यो सँगै नेपालको राष्ट्रियताको विषयमा सबै नेपाली एक छन् भन्ने अभूतपूर्व ऐतिहासिक एकता प्रर्दशन भएको छ ।
नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ । नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो ।
मतदाता यसअघि संविधान संसोधनको विधेयक माथि भएको छलफलमा बोल्ने सबै सांसदहरुले देशको भूमि फिर्ता गर्ने विषयमा प्रधामन्त्री केपी शर्मा ओलीलाई सबैको साथ रहको बताएका थिए ।
छलफलमा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले नेपालको भूमि गुमायो र गणतन्त्रले जिम्मेवारी लिन सफल हुने बताए । नयाँ नक्सा ल्याएर, लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको वताउँदै दाहालले भने ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा गर्न घच्घच्याउनु भएकोमा भारत सरकार र मन्त्रीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको वताउँदै दाहालले भने ‘हामीले दुश्मनी चाहेका होइनौं, कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छौं ।’
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले नेपालीहरु राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताए । राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई कांग्रेसले सधै साथ दिने देउवाले दोर्याए । नेता देउवाले भने, ‘सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ । कसैले महाकाली पनि भन्छन् तर हामी उता काली नै भन्छौं । चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ । नेपालीमा भन्दा काली नदी नै हो त्यो ।’
त्यस्तै जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादबले प्रतिनिधिसभामा प्रस्तुत प्रस्ताबमा आफ्नो पार्टी सर्वसम्मत भएर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रियताको सबालमा आफ्नो पार्टी एकढिक्का हुने पनि बताए । त्यस्तै सो पार्टीका नेता राजेन्द्र महतोले संविधानप्रति आफूहरुको असन्तुष्टि रहे पनि नक्सा सम्वन्धी प्रस्तावमा समर्थन रहेको बताएका थिए । उनले भने, ‘सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्छौं ।’
त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले नक्सा परिमार्जन मात्र होइन भारतले अतिक्रमण गरेको जग्गा कुनैपनि हालतमा फिर्ता गरिछाडने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो राष्ट्रको एकताको बलमा भूमि फिर्ता हुने बताए ।
लिपुलेकको भुभाग नेपालको रहेका कारण आफ्नो देश फिर्ता ल्याउने सवालमा कतिपयले भारत रिसाउँछ की भन्ने जस्ता आवाजहरु उठाउने गरेको स्मरण गदै नेता पौडेलले आफ्नो अतिक्रमित भूभाग फिर्ताको निर्णय कसै बिरुद्ध नभएको स्पष्ट पारे ।