काठमाडौं । २०७६ चैत ११ गतेबाट सरकारले लगाएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो बनाएको छ ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार
मन्त्रिपरिषद बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णग गरेको छ।
त्यस्तै निजी सवारीहरु जोरबिजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । तर मोटरसाइकलमा एक जना र गाडीमा चालक वाहेक दुई जना मात्र बस्न पाइने भएको छ । उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सवारी चलाउन पाइने छ ।
त्यस्तै वैठकले पैदल यात्रामा लगाएको रोक हटाएको छ ।
त्यस्तै स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिकसमेत) समेत खुला गर्न पाइने भएको छ भने कृषि क्षेत्रमा उत्पादनदेखि वितरणसम्म खुला भएको छ । उद्योग व्यापार, व्यसाय खुल्ला गर्न पाइने भएको छ भने सपिङ महल खोल्न पाइने छैन ।
सबै प्रकारका ढुवानीहरु सञ्चालन गर्न पाइने भएको छ भने फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने बताइएको छ ।
बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न पाइने भएको छ भने नर्सरी र वनजन्य उद्यमहरु, विकास आयोजनाहरु पनि सञ्चालन हुने भएका छन् ।
रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) खुला भएको छ भने क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने भएको छ ।
असार १ बाट सरकारी कार्यालयहरु विहान ८ वजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा पूर्णरुपमा सञ्चालन हुने भएका छन् भने शिक्षण संस्थाका कार्यालय सञ्चालन गर्न पाइने भएको छ ।
गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने भएको छ ।
त्यस्तै जिमखाना, सपिग मल, समूहमा खेलिने खेलमैदान र प्रस्तुतीहरु र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु र क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न नपाइने प्रवक्ता डा. खतिवडाले बताएका छन् ।
यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छैन भने आन्तरिक र वाह्य उडान पनि खुलेको छैन ।