काठमाडौँ । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री डा खतिवडाले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक विवरण(बजेट) प्रस्तुत गर्नुभएको थियो ।
सरकारले आगामी आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा चालुतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ । बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७२ अर्ब ७९ करोड व्यवस्थापन गरिएको छ । बजेटका स्रोतमध्ये राजश्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।
विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका सदस्यले २६ खर्च कटौतीसम्बन्धी राख्नुभएको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत ग¥यो । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिनुभयो ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुभएको थियो ।
प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत
प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनको बहुमतले अस्वीकृत गरेको हो ।
उक्त खर्च कटौतीसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका पुष्पा भुसाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, डा मीनेन्द्रप्रसाद रिजाल, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, राजेन्द्रकुमार केसी र देवेन्द्रराज कँडेलले प्रस्तुत गर्नुभएको थियो । सोही दलका मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेनद्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, रङ्गमती शाही र प्रकाशमान सिंहले विनियोजन विधेयकका विभिन्न शीर्षकमा खर्च कटौतीसम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, समाजवादी पार्टीका प्रदीप यादव र रामबाबुकुमार यादवको खर्च कटौती प्रस्तावलाई पनि सदनले अस्वीकृत गरेको छ । यसअघि बैठकमा सभामुखले खर्च कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन सम्बन्धित सदस्यलाई समय दिनुभएकामा उहाँहरुले आफूहरुले उठाएको विषयमा चित्त बुझ्दो जवाफ नआएको जनाउँदै फिर्ता नलिने जवाफ दिनुभएको थियो ।