काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरेको छ । लामो समयदेखि लकडाउन हुँदा विहान वेलुका खान समेत समस्या पर्दै गएपछि उपत्यकाका व्यापारीहरुले आजदेखि सवै किसिमका पसलहरु खोलेका छन् ।
सरकारले विहान १० बजेसम्म अत्यावश्यक वस्तुहरुका पसल मात्र खोल्न अनुमति दिएपनि उपत्यकाका व्यापारीहरुले आजबाट विहान ११ बजेसम्म सवै किसिमका पसलहरु खोलेका छन् ।
बुधबार विभिन्न ठाउँका व्यापारीहरुले पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको वैठकले ११ बजेसम्म सवै पसल खोल्ने एकतर्फी निर्णय गरेको थियो । बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र असन, न्युरोड, भोटेवहल, मैतिदेवी, बौद्ध, भोटाहिटी, कोटेश्वर, पाटनलगायत क्षेत्रका पसलहरु खुलेका छन् ।
कतिपय ठूला पसलहरुले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर पसलमा प्रवेश गराए पनि साना पसलहरुमा माक्स समेत प्रयोग नगरी प्रवेश गरेको पाइएको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक बिहान ११ बजेसम्म सबै पसलहरू खुला गर्ने बताएका छन् । पसलहरू खुला भए पनि सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताएका छन् ।
राज्यलाई तिर्ने कर, घरवेटीलाई भाडा, बैङ्कलाई किस्ता र ब्याजदर र कर्मचारीलाई तलब–भत्ता दिनुपर्ने भएकाले पनि पसल खोल्न वाध्य हुनुपरेको व्यापारीहरुले बताएका छन् ।
महासंघका महासचिव अञ्जन शाक्यले लकडाउन उल्लङ्घनका अर्थमा नबुझिदिन आग्रह गरेका छन् । उनले जीविकोपार्जनका लागि पसलहरू खोल्न वाध्य हुनुपरेको बताएका छन् ।
वानेश्वरलगायतका कतिपय क्षेत्रमा भने प्रहरीले पसल खोल्न दिएको छैन । जबरजस्ती पसल खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनीपछि व्यवसायी पर्ख र हेरको अवस्थामा रहेका देखिन्थे ।
यसैबीच व्यापारीहरूले एकतर्फी निर्णय गरेर सबै प्रकारका पसलहरू खुला गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बसेको बताइएको छ ।
अब लकडाउनका विषयमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरूलाई पनि सरकारले वार्तामा बोलाइसकेको बताइएको छ । दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरू बन्द गर्न आग्रह गर्ने बताइएको छ ।