काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपालीहरुको जीवन रक्षादेखि अर्थतन्त्रको सुरक्षामा समेत चुनौती बढ्दै गएको छ । चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी (लकडाउन) का कारण उद्योग– व्यवसाय समेत ठप्प भएको छ ।
लकडाउनको असर जनतादेखि राज्यलाई समेत परेको छ । अझ गम्भीर असर त उद्योगीदेखि मजदुरसम्म परेको छ । एकातिर उद्योग ठप्प छन् भने अर्कोतिर मजदुरलाई पारिश्रमिक दिनुपर्ने नैतिक जिम्मेवारी । बंैकको व्याजदेखि किस्ता तिर्नु त छदैछ । यस्तो स्थितिमा सम्पूर्ण उद्योगी–व्यवसायीहरुले केही भएपनि राहत महसुस गराउनेमा उद्योगी–व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग अपेक्षा गरेका थिए । तर महासंघले यस्तो समस्या पर्दा पनि कुनै काम गर्न नसकेको भन्दै तत्काल नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ ।
महासंघको विधानत नयाँ नेतृत्व चयनका लागि २०७६ साल चैत २८ र २९ गते महाधिवेशन गर्नुपर्ने थियो । महाधिवेशनको तयारी पनि भएको थियो । तर कोरोना भाइरसका कारण चैत ११ गतेदेखि नै लकडाउन भएकाले महाधिवेशन जेठ ७ गतेका लागि तोकिएको थियो । त्यो मिति पनि टरिसकेको छ । महाधिवेशनको नयाँ मिति तोक्न दवाव परेपनि नेतृत्वले लकडाउन खुलेपछि मात्र मिति तोक्ने भन्दै आफ्नो कार्यकाल लम्व्याउन खोजेको भन्दै उद्योगी–व्यवसायीहरुको असन्तुष्टि जनाएका छन् ।
लकडाउनका कारण देशभरका उद्योगी व्यवसायीहरु समस्या पर्दा पनि नेतृत्वले सरकारसँग वार्ता र सम्बादको माध्यमबाट समस्याको समाधान गर्न नसकेपछि लकडाउनकै अवस्थामा भएपनि उद्योगी व्यवसायीहरुले तत्कालै नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
हाल महासंघका अध्यक्ष भवानी राणाले व्यवसायीक हकहितका लागि सरकारसँग सम्बाद र वार्ता गरेर समस्या सम्बोधन गर्नुभन्दा पनि सीमित व्यक्तिहरुको कोटरीमा रुमलिएर बसेको भन्दै व्यवसायीहरुबाट तत्काल नेतृत्व परिवर्तको विषयमा दबाब आएको महासंघका एक केन्द्रिय सदस्यले बताएका छन् ।
‘महासंघको विधानत कार्यकाल सकिएको बढीमा ३ महिनासम्म मात्र उक्त कार्यसमितिले बैधानिकता पाउँछ,’ ती सदस्यले भने, ‘हालको कार्यसमितिले व्यवसायीक हकहितका लागि काम गर्न नसकेको र बैधानिकता पनि सकिन लागेकाले तत्कालै नेतृत्व परिवर्तन गर्न लागिएको हो ।’
यसअघि महासंघ नेतृत्वले उद्योगी व्यवसायीलाई समस्या पर्दा प्रधानमन्त्री तहमै वार्ता तथा छलफल गरेर आफ्ना समस्याको सम्बोधन गराउँदै आएपनि यसपटक समस्या राख्नका लागि मन्त्रीले समेत भेट नदिएपछि नेतृत्वले काम गर्न नसकेको भन्दै जिल्ला तथा नगरबाट चर्को विरोध सुरु भएको छ ।
विशेषगरी महासंघको अध्यक्ष वा वरिष्ठ उपाध्यक्षले सो विषयमा नेतृत्व गर्नुपर्ने भएपनि हालसम्म कुनै समस्या समाधान नभएपछि नेतृत्व नै परिवर्तन गरेर अघि बढ्न लागिएको ती सदस्यले बताएका छन् । सोही विषयमा छलफल गर्न सोमबार महासंघको सचिवालय बैठक बसेको थियो । बहुमत सदस्यहरुले महासंघको विधानलाई बैधानिकता दिन असारभित्रै निर्वाचन गर्नेगरी मिति तय गर्न माग गर्दै आएका थिए । तर अध्यक्ष राणाले समस्या समाधानभन्दा पनि गैरकानूनी रुपमा आफ्नो कार्यकाल लम्ब्याउने गरी प्रस्ताव ल्याएपछि दुई तिहाईभन्दा बढी स्थायी समिति सदस्यहरुले वैठक वहिस्कार गरेका छन् ।
कुल १९ जनाको स्थायी समिति सदस्यमा ६ जनाको मात्र वैठकमा सहभागि भएका थिए । संघीय संरचनामा गएको महासंघमा ६ वटा प्रदेशका अध्यक्षहरुले भवानी राणाले डाकेको स्थायी समितिको बैठक बहिस्कार गरेका थिए ।
यसैगरी पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकाल, एशोसिएट्स उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी गरी ४ जना पदाधिकारीहरुले नै बैठक बहिस्कार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैगरी अकोश तोदी, दिलसुन्दर श्रेष्ठ लगायतका स्थायी समिति सदस्यहरुले पनि अध्यक्ष राणाले डोकेको बैठक बहिस्कार गरेका थिए । बैंठक बहिस्कार गर्ने १३ जना स्थायी समिति सदस्यले अध्यक्ष राणाले महासंघको विधान अनुरुप कामकारबाही नगरेको र गैरकानुनी एजेण्टाहरु आएको भन्दै लिखित रुपमै जवाफ दिएका थिए ।
जुमबाट गरिएको भर्चुअल बैंठकमा महासंघका अध्यक्ष राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, बागमती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ र शकुन्तलाल हिराचनको मात्र सहभागी भएको बताइएको छ । बैंकठमा सहभागी स्थायी समिति सदस्य हिराचनले पनि अध्यक्ष राणाले राखेको एजेण्डा महासंघको विधान अनुरुप नभएको बताएको स्रोतको दावी छ ।
अध्यक्ष राणाले सोमबार डाकेको बैंठक दुई तिहाई स्थायी समिति सदस्यहरुले बहिस्कार गरेसँगै यसअघि उनले भर्चुअल मिटिङबाट गरेका बैंठक तथा निर्णयहरु समेत अवैधानिक भएको महासंघका एक स्थायी समिति सदस्यले बताएका छन् ।
पछिल्लो समय महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या सम्बोधनका लागि सरकारसँग लविङ गर्न नसकेपछि तत्काल नेतृत्व परिवर्तनको बाध्यता सिर्जना भएको महासंघका एक पूर्व अध्यक्षले बताएका छन् ।
“हामी पूर्व अध्यक्षहरुले विषम परिस्थितीमा यहि नेतृत्वलाई अघि बढाएर उद्योगी व्यवसायीका समस्या समाधान हुन्छ भन्ने सोचेका थियौं,” ती पूर्व अध्यक्षले भने, “अहिलेको नेतृत्व समग्र उद्योगी व्यवसायीको समस्या समाधानभन्दा पनि सिमित कोटरीमा मात्र रमाउन थालेपछि तत्काल नेतृत्व परिर्वतनको विकल्प देखिएन ।”
लकडाउनका कारण हजारौं साना तथा मझौला उद्योगी व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् भने लाखौं श्रमिकले रोजगारी गुमाउने अवस्था आएको छ । यस्तो अवस्थामा पनि उद्योगी व्यवसायका लागि राहत प्याकेज, श्रमिकका लागि रोजगारीको ग्यारेन्टी तथा श्रमिकलाई दिनुपर्ने तलबको विषयमा समेत कुनै सम्बोधन हुन सकेको छैन ।
उद्योगी व्यवसायीका समस्या समाधानकै लागि पनि हालको नेतृत्व परिवर्तनको जरुरी रहेको निष्कर्षमा आफूहरु पुगेको ती पूर्व अध्यक्षले बताएका छन् । यसअघि महासंघले सरकारले लकडाउन खुला गरेको १ महिनाभित्र चुनाव गर्ने निर्णय गरेको थियो । तर, लकडाउन लम्बिदै गएको, महासंघ नेतृत्वले पनि काम गर्न नसकेको र यही नेतृत्वलाई आगामी एक वर्षासम्मका लागि थप गर्नुपर्ने चलखेल समेत हुन थालेपछि तत्कालै महाधिवेशनको मिति तय गर्नुपर्ने पक्षमा महासंघका बहुमत सदस्यहरु देखिएका छन् ।
अध्यक्ष राणालाई मनोनित गरेर सदस्य बनाउनेदेखि विधान संसोधन गरेर अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेका महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले नै अहिले अध्यक्ष राणाको कामप्रति असन्तुष्ट रहेको महासंघका एक सदस्यले बताएका छन् ।
महासंघका पूर्व अध्यक्षहरु तथा अन्य पदाधिकारीहरु नै उनको कार्यशैलिप्रति विरोध जनाएर विपक्षमा उभिनुले राणाको कार्यकाल नै असफल भएको सन्देश गएको र राणा नेतृत्वले वर्तमान समस्या समधान गर्न नसक्ने दावी महासंघका एक कार्यसमिति सदस्यले दावी गरेका छन् ।