काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनलगायतका समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको बताइएकोछ ।
नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको भइसकेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो । उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे संसद् सचिवालयमा गएर दर्ता गराउनुभएको हो ।
भारतबाट अतिक्रमित नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भू–भाग समेटेर सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी प्रकाशन गरेको थियो । दर्ता भएको उक्त संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । त्यसपछि जनताको जानकारीका लागि प्रकाशित गरिने छ । सभामा सामान्य छलफलपछि उक्त विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न समय प्रदान हुनेछ । विधेयकमाथि संशोधन प्राप्त भएमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित उक्त विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ ।
उक्त प्रक्रिया राष्ट्रियसभामा पनि सैद्धान्तिक छलफलबाट दोहोरिने संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । विधेयकमाथि कुनै सशोधन प्रस्ताव परेन र सर्वसम्मत भएको खण्डमा छोटो प्रक्रिया र विधिबाट विधेयकलाई अझै छिटो समयमा पारित गर्न सकिने छ ।
विधेयक दुई तिहाइ आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ । संविधान संशोधनका लागि दलहरुबीच सहमति जुटाउन प्रधानमन्त्री ओलीले सर्वदलीय वैठक आव्हान गर्नु भएको बुझिएको छ ।