काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् ।
यसैगरी नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन् । नयाँ आज भेटिएका सङ्क्रमितसँगै अहिलेसम्म सङ्क्रमित ४८७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
कोरोना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै
भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ ।
सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो ।
उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ ।
यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उहाँका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए ।
यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिएलगत्तै उहाँलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।




















