काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
वैशाख ३० गते भारतबाट नेपाल आएर बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेपछि उनको उपचार अभावकै कारण मृत्यु भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा शनिबार पहिलो मृत्यु सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको भएको थियो ।




















