काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद सुल्झिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई थप एकतावद्ध गर्दै सरकारका काम कारवाहीलाई पनि अझ प्रभावकारी बनाउँदै अघि बढ्ने सहमति गरेका छन् ।
सचिवालयका नेताहरुले आत्माआलोचना गर्दै विगतका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । सो वैठकले वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय पनि गरेको छ ।
स्थायी कमिटीको बैठकको तयारीका लागि बुधबार अपराह्न ३ः०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ ।
शनिबारको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गर्नुभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताएका छ ।
नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।
पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुनेछ ।
बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । उहाँले कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको बताउनु भएको छ ।