काठमाडौं । नेकपाको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको आजको बैठक नेकपाको आन्तरिक राजनीतिमा निकै महत्वपूर्ण मानिएको छ ।
बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पुष्पकमल दाहालले खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग छलफल गरेका छन् भने माधवकुमार नेपाल र अन्य नेताहरुपनि आन्तरिक छलफल गरिरहेका छन् ।
वैशाख १७ गते बसेको बैठकले विवादित बिषयमा सहमति जुटाउन बैशाक २० गते बैठक बोलाउने सहमति भएको थियो।
जनताले निर्वाचन मार्फत राजनीतिक स्थायित्व खोजे पनि नेकपाकै नेताहरु अस्थिरतातर्फ अघि बढ्न खोजेका छन् । सरकारले ल्याएका दुई वटा अध्यादेश फिर्ता भइसकेपछि पनि त्यसैले निहुँ बनाएर नेकपाका अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलखेल गरिरहेका छन् । कोरोना भाइरसको महामारीसँग जुधिरहेको सरकार र नेकपा पार्टीलाई नै विवादमा ल्याएर कमजोर बनाउने खेलमा पार्टी लाग्नु अत्यन्त दुःखद भएको नेकपाका नेताहरुले बताउँदै आएका छन् । पूर्व माओवादीकै दर्जनौ नेता तथा सांसदहरुले अहिले सरकार परिवर्तनको खेलमा लाग्ने समय नभएको सुझाव दाहाललाई दिएका छन् । तर विपक्षीहरु एकजुट भइरहेको मौकामा चौका हान्न दाहाल उद्दत हुनुलाई राजनीतिक विश्लेषकहरुले घर जलाएर खरानीको व्यापारको संज्ञा दिएका छन् ।
पार्टीलाई एकतावद्ध गरेर अघि बढ्न अध्यक्ष ओलीले लिएको लचकतालाई नै कमजोरी ठाने ठूलो दुर्घटना हुन सक्ने नेकपाका नेताहरुले चेतावनी दिएका छन् ।