काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा रु ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ ।
यस अवधिमा विभागले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारवाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो । विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो । सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी गरेको थियो ।
विभागले गरेको विशेष अनुगमनका क्रममा सबैभन्दा बढी स्वास्थ्य सामग्रीका पसलमा अनियमितता पाएपछि जरिवानास्वरुप रकम असुलउपर गरेको हो ।
व्यवसायीले बढी मूल्य लिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, नवीकरण नगरेको, अनुगमन टोलीलाई असहयोग गरेको र खरिद बिक्री बिल देखाउन नसकेकाले विभागले कारवाही गरी रकम असुल गरेको हो ।
विभागले हरेक दिन आठजनाको टोली बनाएर बजार अनुगमनलाई तीव्रता दिदै आएको छ ।अनुगमनका क्रममा रु पाँच हजारदेखि रु तीन लाखसम्म असुलउपर गर्न पाउने अधिकार कानूनीरुपमा रहेको छ ।
विभागका निरीक्षण अधिकृत दीपकराज पोखरेलका अनुसार लकडाउनयता २४५ वटा पसलको अनुगमन गरिसकेको छ ।
जहाँ सबैभन्दा बढी खाना पकाउने ग्यास ८० वटा पसलको अनुगमन गरेको छ । औषधि पसलको १९, खाद्यान्न ४६, डेरी तीन, तरकारी तीन, फलफूल चार, पेट्रोल पम्प २३ र सुपरमार्केटलगायत पसलको अनुगमन गरिसकेको छ ।
उपभोक्ताका गुनासो बढे
विभागका अनुसार लकडाउनको अवधिमा उपभोक्ताका गुनासो बढेका छन् । विभागले विगत चार वर्षदेखि नै ११३७ टोल फ्री नम्बर सार्वजनिक गरी उपभोक्ताको गुनासो सुन्ने गरे पनि पहिले नगन्य मात्रामा मात्रै गुनासो आए पनि अहिले भने सम्बोधन गर्न हम्मेहम्मे परेको छ ।
पहिलो हप्तामा एक दुईवटा मुस्किलले आउँथे अहिले दैनिक २५/३० वटासम्म पनि आउने गरेको छ । लकडाउनको शुरुवाती समयमा त दैनिक ४०० वटासम्म आएको अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौँ उपत्यकाको हकमा विभागले नै गुनासो सुनावाइ गर्दै आएको छ ।
गुनासोका रुपमा हहिले राहत सामग्री नपाएको र बढी मूल्य लिएको गुनासो आएका छन् । कडाउनको शुरुवाती समयमा ग्यासको अभावजस्ता गुनासा पनि आएका थिए ।
अनुगमनका क्रममा विभागलाई पहिले केही असहज रहेको थियो । विगत डेड वर्षदेखि अनुगमनस्थलमा नै कारवाही गर्न पाउने कानूनी व्यवस्था भएपछि सहज भएको विभागले जनाएको छ ।
पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ ।
जोकोहीलाई पनि सामग्री खरिद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ । विगतमा चाडबाडको समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ ।
(रासस)