काठमाडौं । बिहीबार विहान पक्राउ परेका यस मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठकलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकार पाठकलाई प्रहरीले पक्राउपछि गुपचुप रुपमा विद्युतीय कारोबारसम्बन्धि अभियोग लगाएको प्रति आपत्ति जनाउँदै अविलम्ब रिहाईका लागि माग गरेको हो ।
“महासंघको काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य र मार्गदर्शन न्युज डटकम अनलाइन पोर्टलका सम्पादकसमेत रहेका पत्रकार पाठकलाई सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेको निहुँमा त्यस्तो अभियोग लगाएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको छ ।” महासंघले भनेको छ ।
नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै पत्रकार पाठकले पुष्पकमल दाहालको आलोचना गर्नु भएको थियो । सोही आरोपमा दाहालको सचिवालयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरिएको जनाएको छ । प्रहरीले पाठकलाई बिहीबार निवासबाटै प्रक्राउ गरी गुपचुप ढंगले विद्युतीय कारोबारको अभियोग लगाएको बुझिन आएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महासंघको विज्ञप्तीमा लेखिएको छ, ‘लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका पाठकलाई ‘बैंक तथा वित्तिय संस्थाका तथ्याङ्कहरुको कारोबार र त्यसले विद्युतीय माध्यममार्फत गर्ने कारोबारको दुरुपयोग’ लाई लक्षित गरी ल्याइएको विद्युतीय कारोबार ऐनको दफा आकर्षित गरी थुनामा राख्नु र मुद्दा चलाउने प्रयास गर्नु कानुनको अपव्याख्या, दुरुपयोग तथा नियोजित मनसाय हो भन्ने स्पष्ट हुन्छ ।’
महासंघले कोही कसैको मयार्दामा आँच आउने किसिमको अभिव्यक्ति फेसबुक स्टाटसबाट भएको छ भने पनि सरोकारवाला निकायको समन्वय र रोहबरमा आगामी दिनमा त्यस्ता गल्ति नदोहो(याउने प्रतिवद्धताका आधारमा पत्रकारका हकमा प्रहरीले रिहा गरेका घटना प्रशस्त रहेको तर पत्रकार पाठकलाई भने लामो समयदेखि लकडाउनको असरले विषयान्तर गरी अभियोग लगाउन खोजिनु दुःखद भएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले आफूहरु पत्रकारलाई राहत तथा अन्य उद्धारका कार्यमा केन्द्रीत भइरहेको बेला अकस्मात कसैलाई थाह नदिई पत्रकारलाई हिरासतमा लिनु, पक्राउ गर्नुअघि नै २ दिनको म्याद थपिनु र हतासमा मुद्दा चलाउने प्रयास गरिनुजस्ता घटना पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्रमुलक भएको स्पष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तले जारी गर्नुभएको विज्ञप्तीमा लेखिएको छ, ‘हामी उक्त घटनाको भत्सर्ना गर्दै लोकतान्त्रिक राज्यमा संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्न आग्रह गर्दछौं । पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध केही लेखक–पत्रकारलाई यसअघि पनि पटकरपटक आस्था तथा विचार अभिव्यक्तिका आधारमा सुरक्षाकर्मीले पक्राउ गर्ने र मानसिक तनाव दिने काम हुँदै आएको थियो ।’
एक कलमजिवी तथा राज्यले नै पत्यार गरेर प्रेस काउन्सिल र रेडियो नेपालजस्ता निकायको सञ्चालक बोर्डमा नियुक्त गरिसकेको व्यक्तिलाई यसरी पक्राउ र धरपकड गर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि दिनप्रतिदिन खतरा बढेको र पत्रकारमाथि कुनै न कुनै दिन, केही न केही बहानामा जतिबेला पनि प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको संकेत मिलेको उल्लेख गर्दै विज्ञप्तीमार्फत यस्ता घटना आगामी दिनमा नदोहोर्याउन र पक्राउ परेका पत्रकार पाठकलाई अविलम्ब रिहा गर्न महासंघले जोडदार माग गरेको छ ।
महासंघद्वारा जारी विज्ञप्ति–
मिति: २०७७/०१/१९
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य एवं मार्गदर्शन न्युज डटकम अनलाइनका सम्पादक दीपक पाठकलाई प्रहरीले पक्राउ गरी सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेको अभियोग लगाएकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
पत्रकार पाठकलाई बिहिबार कोटेश्वर स्थित निवासबाटै प्रहरीले प्रक्राउ गरी गुपचुप ढंगले विद्युतीय कारोवारको अभियोग लगाएको बुझिन आएको छ । लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आउनुभएका पाठकलाई बैंक तथा वित्तिय संस्थाका तथ्याङ्कहरुको कारोवार र त्यसले विद्युतीय माध्यम मार्फत गर्ने कारोवारको दुरुपयोगलाई लक्षित गरि ल्याइएको विद्युतीय कारोवार ऐनको दफा आकर्षित गरि थुनामा राख्नु र मुद्दा चलाउने प्रयास गर्नु कानुनको अपव्याख्या र दुरुपयोग तथा नियोजित मनशाय हो भन्ने स्पष्ट हुन्छ ।
कोही कसैको मयार्दामा आँच आउने किसिमको अभिव्यक्ति फेसबुक स्टाटसबाट भएको छ भने पनि सरोकारवाला निकायहरुको समन्वय र रोहबरमा आगामी दिनमा त्यस्ता गल्ति नदोहो¥याउने प्रतिवद्धताका आधारमा पत्रकारका हकमा प्रहरीले रिहा गरेको घटना प्रशस्त छन् । तर पत्रकार पाठकलाई भने लामो समयदेखि लक डाउनको असरले विषयान्तर भएको र हाम्रो शाखा पनि पत्रकारहरुलाई राहत तथा अन्य उद्धारका कार्यहरुमा केन्द्रीत भइरहेको बेला अकाश्मात कसैलाई थाहै नदिई हिरासतमा लिनु, पक्राउ गर्नु अघि नै दुइ दिनको म्याद थपिनु, हतासमा मुद्दा चलाउन प्रयास गरिनु जस्ता घटनाहरु पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्रमुलक देखिन्छ ।
तसर्थ हामी उक्त घटनाको भत्सर्ना गर्दै लोकतान्त्रिक राज्यमा संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्न आग्रह गर्दछौं । पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध केही लेखक–पत्रकारहरुलाई यसअघि पनि पटक–पटक आस्था तथा विचार अभिव्यक्तिका आधारमा सुरक्षाकर्मीहरुले पक्राउ गर्ने र मानसिक तनाव दिने काम हुँदै आएको थियो ।
एक कलमजिवी तथा राज्यले नै पत्यार गरेर प्रेस काउन्सिल, रेडियो नेपाल जस्ता निकायको सञ्चालक बोर्डमा नियुक्त गरिसकेको व्यक्तिलाई यसरी पक्राउ र धरपकड गर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि दिनप्रतिदिन खतरा बढ्दैछ र पत्रकारहरुमाथी कुनै न कुनै दिन, केही न केही बहानामा जतिबेला पनि प्रहरीले पक्राउ गर्नेे संभावना छ भन्ने संकेत गरेको छ । तसर्थ आगामी दिनमा यस्ता घटना नदोहो¥याउन र पक्राउ परेका पत्रकार पाठकलाई अविलम्व रिहा गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखा जोडदार माग गर्दछ ।
मोहनप्रसाद पन्त
सचिव
नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखा




















