काठमाडौं । नेकपाभित्र सल्केको भुुुुसको आगोले यतिबेला नेता तथा कार्यकर्तामा अनावश्यक तनाव उत्पन्न गराएको छ । सरकार र पार्टीको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पार्ने काम बरिष्ठ नेताहरुबाट भइरहेको छ भने केही नेताहरुले आगोमा घ्यू थप्ने काम गरिरहेका छन् । विशेष गरी सरकारले जारी गरेर पार्टीको निर्णय अनुुसार फिर्ता भएका दुई अध्यादेश पश्चात नेकपाको राजनीतिमा एक खालको रतंग पैदा भएको छ । पार्टी भित्रको गुटबन्दी छताछुल्ल भएको छ । दिनँहु जसो प्रधानमन्त्रीका विरुद्ध विपक्षी दलका नेताहरुसँगै उनकै पार्टीका वरिष्ठ नेताहरुले आफ्नो सकृयता बढाएका छन् । राजनीतिमा सामान्य असमझदारी हुने भएपनि त्यहि सामान्य असमझदारीलाई नेताहरुले बुझ्न नसक्दा यसले भोलिका दिनमा ठूलो दुर्घटना निम्त्याउने सम्भावना बढेर गएको छ ।
राजनीति गर्ने जो कोहीलाई पदको इच्छा हुनु सामान्य हो तर सबै इच्छा पूरा हुन सक्छ भन्ने होइन । यही पदको लोभले गर्दा अहिले नेकपाको राजनीतिमा खिचातानीको सम्भावना बढेर गएको छ । सत्ताभन्दा बाहिर बसेकाहरुलाई सत्ताको मोह जागेको छ भने नेतृत्व गर्न नपाएकाहरुलाई नेतृत्वको मोह जागेको छ जसका कारण गुट उपगुटहरु श्रृजना भएका छन् । अहिलेको अवस्थामा पार्टीमा यो भन्दा बढी हुदैँ गयो भने समस्याले झन जटिल मोड लिने देखिन्छ ।
नेपाली जनता र आम कार्यकर्ताको चाहना नेकपाको सरकार प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने छ तर केही नेताहरु भने जनभावना विपरित जाने प्रयासमा छन् जसको परिणामप्रति उनीहरु अबुझ झैं भइरहेका छन् । यस्ता गतिविधिले नेकपाको राजनीतिलाई भोलिका दिनमा कस्तो असर पार्छ भन्ने तर्फ उनीहरुमा रत्तिभर पनि चिन्ता देखिन्न । यतिसम्म कि नेकपाका केही उच्च स्तरका नेताहरु प्रतिपक्षभन्दा पनि कडा रुपमा सरकारको विरुद्धमा उत्रिएका छन् । उनीहरुको उत्राईले सरकार र प्रधानमन्त्रीलाई मात्र होइन भोलिका दिनमा पार्टीलाई नै ठूलो नोक्सानीमा पु¥याउने निश्चित छ ।
नेकपा एमालेको पछिल्लो महाधिवेशन पश्चात विकसित ध्रुवीकरणले अहिले फस्टाउने मौका पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालपक्षका केही नेताहरुले अहिलेको राजनीतिक ध्रुवीकरणलाई मलजल गर्ने कार्य गरिरहेका छन् भने दुई पक्षबीच खिचातानी भए नाफा आफुले लिन सक्ने अनुमानका साथ अर्को पक्ष जसको नेतृत्व प्रचण्डले गरिरहेका छन् त्यो पक्ष पनि सकृय भएको छ भने स्वयं प्रधानमन्त्री ओलीपक्षका केही नेताहरुले समेत अनावश्यक रुपमा उत्तेजना फैलाउने कार्य गरिरहेका छन् ।
उता मौकाको पर्खाईमा बसेका झलनाथ खनाल, बामदेव गौतमजस्ता नेताले समेत आफ्नो रहल पहल शक्तिलाई प्रर्दशन गर्ने प्रयास गरिरहेका छन् । दुई पक्ष, तीन पक्ष, चार पक्ष हुदैं विकसित नेकपा भित्रको गुट उपगुटलाई समयमै रोक्न प्रयास युवा तथा मध्यमार्गी नेताहरुबाट भएन भने भोलि उनीहरुका लागि राजनीतिक गर्ने मैदान नै बाँकी रहने छैन ।
नेपालको राजनीतिक इतिहासमा नेपाली जनताले नेकपालाई अस्मरणीय जनमत दिएका छन् । देशी विदेशी शक्तिले नचाहदाँ नचाहदैँ पनि देशमा दुई ठूला कम्युनिष्ट पार्टीहरुका एकता भएको छ । यो एकताले अबका केही वर्षसम्म देशमा थप उर्जा पैदा गर्ने आशा आम नेपाली जनताले गरेका छन् । गत निर्वाचनमा झन्डै दुई तिहाईको नजिक मत प्रदान गरेका छन् । भने यो एकताले सार्थकता पाउन सके अर्को निर्वाचनमा यो भन्दा बढी जनमत पाउन सक्ने अनुमान गरिदैँ आएको छ तर पछिल्ला राजनीतिक घटना क्रमले भने यसलाई असर पार्ने सम्भावना बढेर गएको छ । अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर जानु पर्ने अवस्थमा पार्टी भित्र गुट उपगुट निर्माण गरेर अगाडि बढ्दा यसले पार्टीलाई दोश्रो संविधान सभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीको स्तरमा नपु¥याउला भनेर भन्न सकिन्न ।
विगत केही दिनदेखि अध्यक्ष प्रचण्ड पक्षका नेताहरु सरकारलाई असफल तुल्याउन सकृय भएका छन् । उनीहरुको दैनिकी भनेको सरकारका साना साना कमजोरीलाई निकाल्ने अनि तिलको पहाड बनाउने बनेको छ । यसका लागि उनीहरुले सामाजिक संजाल र केही मिडियाहरुको भरपूर प्रयोग गर्दै आएका छन् । पार्टी एकता पश्चात प्रचण्डलाई सम्मान जनक पद नदिएको भन्दै उनीहरुले अध्यक्ष केपी ओलीलाई कमजोर बनाउने खेलमा लागेका छन् । उनीहरुको लक्ष्य भनेको पार्टीमा एकल नेतृत्वमा प्रचण्डलाई स्थापित गर्ने रहेको छ । सरकारका गल्ति खोज्ने र ओलीलाई झुकाउने उनीहरुको योजना रहेको छ । यसका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेलगायतका केही नेताहरुको निकै सकृयता बढेको देखिन्छ ।
उता वरिष्ठ नेता माधवकुमार नेपाल समुहका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका केही नेताहरु केपी ओलीलाई जसरी भए पनि सरकारबाट बाहिर ल्याउनु पर्ने पक्षमा लागेका छन् । यसका लागि उनीहरुले नेता नेपाललगायत अन्य नेताहसँग दैनिक खुरापाती गर्दै आएका छन् । उनीहरुको वार्गेनिक भनेको सत्ताका लागि नै देखिन्छ । यस कार्यमा वरिष्ठ नेता माधवकुमार नेपालले समेत साथ दिएका छन् । उनकै निवासमा उनी पक्ष नेताहरुको भेलाले समेत यसलाई प्रष्ट पार्दछ । झलनाथ खनाल र बामदेव गौतमलगायतको अन्य नेताहरुले समेत अहिले आफ्नो फाइदाका लागि सरकार र अध्यक्ष केपी ओलीको विपक्षमा रणनीति बनाउँदै आएका छन् । पार्टी भित्र यस्तो अवस्था श्रृजना हुदाँ प्रधानमन्त्री ओली पक्षका केही नेताहरु समस्या समाधान तर्फभन्दा पनि उत्तेजना बढाउने काम तर्फ लागेका छन् । यसले पनि समग्र पार्टीको राजनीतिमा असर पारिरहेको छ ।
पछिल्ला केही दिनहरुमा उच्च स्तर नेताहरु समेत आफ्नो शक्ति संचयका लागि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले हालै आफु निकटका नेताहरुसँग परामर्श लिनु भएको छ । भने अर्का अध्यक्ष प्रचण्डले समेत आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर आफ्नो निवासमा नेताहरुको जमघट गराएर राय लिएका छन् । उता वरिष्ठ नेता माधवकुमार नेपालले पनि निवासमा आफ्नाविश्वास पात्रहरु भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुसँग सरसल्लाह गरेका छन् । भने झलनाथ खनाल र बामदेव गौतमसमेत कता लाग्दा फाईदा हुन्छ भनेर हेरिरहेका छन् । त्यस्तै समस्याको अल्पकालीन समाधान खोज्ने दुईपक्षीय नेताहरुकबो वार्ता र छलफल समेत भएका छन् । यस प्रकारको एक पक्षीय भेला, दुई गुटको वार्ता तथा छलफलले पार्टीभित्रको विश्वासलाई झन दुरीसम्म पु¥याउने ठम्याई मध्यमार्गी नेताहरुको रहेको छ । पार्टीको समस्या दर्घिकालीन रुपमा समाधान गर्ने हो भने एक पक्षले अर्को पक्षलाई लिएर बलियो हुने होइन समग्र पार्टीको वैठक त्यसले नभए महाधिवेशन गरेर भए पनि अगाडि बढ्न आजको आवश्यकता देखिन्छ ।
पार्टीभित्रकै उपल्लो पहका नेताहरुले यसरी आ–आफ्नो पक्षका नेताहरुको भेला गर्न थाले पछि केही युवा पुस्ताका नेताहरुले भने समस्याको समाधान बैठक र सामुहिक छलफलबाटै गर्नु पर्ने धारणा अगाडि सारेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, योगेश भट्टराई, जगन्नाथ खतिवडालगायतका नेताहरुले एकता जोगाउन र पार्टीलाई सशक्त बनाउन विश्वास र सहकार्यका आवश्यक भएको बताउँदै आएका छन् । यतिबेला नेकपालाई प्रष्ट जनमत प्राप्त भएको छ । जनमत र नेपालको संविधान अनुसार पाँच वर्षसम्म उसलाई कसैले सत्ताबाट हटाउन सक्दैन तर यसबीचमा नेताहरुबीच सत्ताको खेल भयो भने त्यो अवधिसम्म सत्तामा बसिरहन सक्छ भन्ने छैन ।
पार्टी भित्र यसरी विवाद बढ्दै जादाँ अवका दिनमा भावी नेतृत्व लिन सक्षम नेताहरु ईश्वर पोखरेल, रामवहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, घनश्याम भुषाललगायतका नेताहरु समस्याको समाधान खोज्न सकृय हुनु पर्ने आम कार्यकर्ताको माग हुन थालेको छ । त्यस्तै नेकपा भित्र नपत्याउदो तरिकाबाट सल्कदैं गएको भुसको डढेलो निभाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु सयममै लाग्नु पर्नेमा उनीहरु नै अहिले आनाकानी गरिरहेको देखिन्छ । यही सोच उनीहरुमा रहिरहने हो भने भोलि उनीहरु बस्ने घर नै जलेर खरानी नहोला भन्न सकिन्न ।