काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनु भएको छ । आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताउनु भएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गर्नुभएको हो । उहाँले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो
विकसित देशहरुलााई नै आछुआछु पार्ने गरी फैलिएको कोरोना भाइरस फैलिइरहेको अवस्थामा हाम्रो जस्तो गरिव मुलुकका लागि थप चुनौतीपूर्ण हुनु स्वभाविक रहेको बताउँदै प्रधानमन्त्री ओलीले आम जनताको सहयोग र राजनीतिक दलहरुसँगको सहकार्य र चिकित्सकहरुको मेहनतबाट सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ ।
वेलावेलामा आउने संकटको सामना गर्न विश्वको तयारी अपुरो रहेछ भन्ने देखिएको वताउँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्ध सवैको साझा लडाई भएको र यसबाट नै परास्त गर्न सकिने बताउनु भएको छ ।
अबको सफलता जनताहरुको कर्तव्यनिष्ठतामा भर पर्ने वताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक दल, सञ्चारमाध्यम, चिकित्सक, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सवैलाई धन्यवाद दिनु भएको छ भने आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नु भएको छ ।
कोरोना भाइरसविरुद्ध लड्न सामाजिक दुरीको विकल्प नभएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनताको धैर्यताको सह्राना गर्नु भएको छ । उहाँले अबका केही हप्ता दुःखकष्ट सहेर लकडाउनको पालना गर्न आग्रह गर्नु भएको छ । गरिव, दुःखी र दैनिक ज्वालादारीबाट जीवन गुजारा गर्दै आएकाहरुलाई स्थानीय तहसँगको सहकार्यमा राहत वितरण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले अत्यावश्यक समग्रीको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताउनु भएको छ ।
विपतको घडीमा सञ्चारमाध्यमहरुले पुर्याएको योगदानको सह्राना गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरु थप जिम्मेवार बन्नुपर्ने पनि बताउनु भएको छ । सरकारको सम्पूर्ण ध्यान कोरोना भाइरस फैलिन नदिने र त्यसलाई समयै नियन्त्रणमा लिनेमा केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री अभाव हुन नदिन सरकार लागि परेको बताउनु भएको छ । अब थप परीक्षण गरेर कोरोना संक्रमणको अवस्था पहिचान गरिने बताउनु भएको छ । सञ्चारमाध्यम, सामाजिक सञ्जालमा आएका सुझाव, टिप्पणी र गुनासोप्रति आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री ओलीले कहि कतै भ्रष्टाचार भएको भए त्यसको छानविन गरेर कारवाहीको दायरामा ल्याउन सरकार कटिवद्ध रहेको बताउनु भएको छ ।
संकटको घडीमा दुष्प्रचार र अतिरञ्जित कुरा गरेर कोरोना भाइरसविरुद्ध लडिरहेको जनशक्तिलाई निरुत्साहित नगर्न उहाँले आग्रह पनि गर्नु भएको छ ।