काठमाडौं । सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उद्दार गर्नु भएको छ ।
काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहनु भएका मानन्धरले बिहीबार साँझ बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि आफ्नै गाडी पठाएर उद्दार गर्नुभएको हो ।
ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जीपपुर रामघाटका ६६ वर्षीय नवराज घिमिरेका आफन्तले मन्त्रीलाई टेलिफोन गरेर अलपत्र परेको जानकारी गराए पछि मन्त्री मानन्धरले आफ्नो गाडी सहित सचिवालयका जयप्रकाश श्रेष्ठलाई पठाएर घरसम्म लगिदिनु भएको बताइएको छ ।
घिमिरे लगातार झडापाला लागेपछि आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु आएका थिए ।
राज्यमन्त्री मानन्धरले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले उहाँप्रति आभार व्यक्त गर्दै सरकारले जनताको रक्षाका लागि गरेको कामबाट आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।
लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताएका छन् ।
मन्त्री मानन्धरले जनतामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र यसको नियन्त्रणका लागि लकडाउन गरिएको वताउँदै आपतविपत परेमा आफू र सरकारका कुनै पनि निकायमा खबर गर्न आग्रह गर्नु भएको छ ।
काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले सरकार जनताको सुख दुखमा सँगै रहेको बताउनु भएको छ ।
काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सयौं सर्वसाधारणका लागि अत्यावश्यक औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सहजीकरण गर्ने काम राज्यमन्त्री मानन्धरको सचिवालयले गरिरहेको स्वकिय सचिव श्रेष्ठले बताएका छन् ।
राज्यमन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने बताउँदै आफ्नो र सचिवालयको मोबाईल नम्वर सार्वजनिक गर्नु भएको छ । मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्बर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न वा आफ्नो सचिवालयका प्रमुख स्वकीय सचिव ओम राजवाहक र अर्का स्वकीय सचिव जयप्रकाश श्रेष्ठसँग सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।
लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने जस्तोसुकै समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको बताउनु भएको छ ।
लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै राज्यमन्त्री मानन्धरले सहरी क्षेत्रका सर्वसाधारणको सीमिततालाई मध्यनजर गर्दै जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताउनु भएको छ ।



















