काठमाडौं। तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना टे«किङ गाइडहरुको उद्दार गरेको छ । नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई पनि उद्दार गरिएको सो कम्पनीले जनाएको छ ।
कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरुलाई यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी अइतबार काठमाडौं ल्याएको हो । ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको आइतबार चौथों दिन भएको सो कम्पनीले जनाएको छ ।
शनिवार दिउँसो १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेपनि खराव मौषमका कारण रद्द भएकोले सो उडान आइतबार विहान ७ बजेको लागि सारिएको थियो ।

काठमाडौं स्थित बेलायत र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी तारा एअरले पर्यटकहरु उद्दारका लागि १८ सिट क्षमता भएको 9N ALO ट्वीन ओटर विमान लुक्ला पठाएको थियो ।
यसअघि, यती एयरलाइन्सले शुक्रवार र शनिवार गरी पोखराबाट ६० जना पर्यटकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । साथै, तारा एअरले चैत १३, १४ र १५ गते गरी लुक्लाबाट जम्मा ८१ जना पर्यटकहरुलाई उद्दार गरिसकेको छ । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ ।

























