काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन अवधि लम्व्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
चैत १८ गते विहान ६ वजेसम्म लगाइएको लकडाउन कम्तिमा एक साता लम्व्याउने तयारी रहेको बुझिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सवै जनतालाई घरभित्रै राख्नु पर्ने भएकाले सरकारले लकडाउन घोषणा गरेको हो । आज अपरान्ह बस्ने मन्त्रिपरिषद् वैठकले लकडाउनको अवधि थप्ने र केही महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको दावी छ ।
लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ । सो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री पोखरेलले ब्रिफिङ गर्नु भएको बताइएको छ ।
तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना रहेको छ ।
आज बस्ने मन्त्रिपरिषद् वैठकले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका र अति विपन्न जनताका लागि केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको पनि बुझिएको छ ।
केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको स्रोतको दावी छ ।