काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरसको विषयमा देशबासीका नाममा आज सम्वोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनु भएको छ ।
कोरोना भाइरसबाट जनतालाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले गर्न लाग्नु भएको सम्बोधनलाई विशेष रुपमा हेरिएको छ । संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा गर्ने तयारी रहेको वालुवाटारस्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने र तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन सम्बोधनका बेला भिडभाड हुन नदिन सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिइने बुझिएको छ ।