काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा विस्फोट गराएको आशंकामा प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङलाई पक्राउ गरेको छ ।
गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ः५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विप्लव समूहले सो घटना गराएको हुन सक्ने बताएका छन् । सो समूहको मुखपत्र इ–रातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।
घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ ।
बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा पनि क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ ।
बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको तर आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।