काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
अर्थमन्त्री खतिवडाले आजै पदभार ग्रहण गर्नु भएको छ । सपथ लिएपछि उहाँले अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको हो ।
मन्त्री खतिवडालाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । संसद सदस्य नरहेपछि उहाँले मंगलबार नै पदबाट राजीनामा दिनु भएको थियो ।
राजीनामा दिएको भोलिपल्ट खतिवडा पुन: अर्थमन्त्री नियुक्त हुनु भएको हो ।