काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।”
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको मिर्गौलासँग म्याच गरेपछि उहाँ मिर्गौला दिन तयार हुनुभएको हो ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो । उनको नाम गोप्य राखिएको छ ।
१३ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । त्यसबेला दिल्लीमा प्रत्यारोपण गरिएको थियो । यसपटक भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले ब्यक्त गर्नुभएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जान धेरैले सुझाव दिएपनि प्रधानमन्त्रीले देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन प्रधानमन्त्रीले शिक्षण अस्पताल रोज्नु भएको वालुवाटार स्रोतले बताएको छ ।

























