काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको बताइएको छ ।
यसअघि सोही कोटामा मनोनीत भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सदस्यहरुले यही फागुन २१ गते सपथ लिदैछन् । गौतमले पनि सोही दिन सपथ लिने छन् । यअसघि गौतमलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गरिएको थियो । तर उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोले मात्र आफू उम्मेदवार बन्ने शर्त राखेका थिए ।
केही दिनअघि पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा नेताहरु सुवास नेम्वाङ र खिमलाल देवकोटा रहेको कार्यदल बनाइएको थियो । तर एकजना व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने भन्दै विपक्षी दलका नेताहरुले मात्र होइन सत्तारुढ दलकै नेतादेखि वुद्धिजीवी एवं सर्वसाधारणले समेत चर्को विरोध गरेपछि त्यो योजना विफल भएको छ ।
प्रधानमन्त्री बन्ने बाटो नखुले पनि वामदेव अन्ततः राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् ।
























