काठमाडौं । कुवेतमा चार नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अल मुत्लास्थित निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएर उनीहरुको मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।
तीन जनाको घटनास्थलै र एक जनाको उद्धारका क्रममा निधन भएको समाचारमा उल्लेख छ । निधन हुनेको सनाखत हुन नसकेको जनाइएको छ ।
काम गरिरहेको बेला बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएका केहीको अवस्था गम्भीर रहेको र केही हराएको पनि समाचारमा जनाइएको छ ।
ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । कुवेतकी भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानविन समिति बनाउन निर्देशन दिएको समाचारमा जनाइएको छ ।