काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार बढेको नभई कारवाही बढेको बताउनु भएको छ । उहाँले सरकारले छानबिन र कारबाही गर्न थालेपछि भ्रष्टाचार बढी देखिएको बताउनु भएको छ ।
नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिँदै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताउनुभयो ।
‘मैले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेको छु’ छु भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विगतमा गुपचुप हुन्थ्यो । अहिले सरकारले कारवाही गरेपछि भ्रष्टाचार बढेको ढंगले प्रचार गरिएको छ ।’ उहाँले जनतामा सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिनु नहुने बताउनुभयो ।
देशको र जनताको अपेक्षा अनुसार पार्टी एकढिक्का भएर चलेको भन्दै प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्यमले पार्टीबारे भ्रम फैलाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
तीनै तहका सरकार पार्टीको नीति निर्देशनअनुसार चल्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले बैठकले दिएका सुझाव र निर्देशनहरु कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनु भयो ।
ओलीले समापन मन्तव्यको अन्तिममा नेता तथा सांसदहरुलाई वालुवाटारमा आयोजना गरिएको रात्रिभोजमा सहभागी हुन आग्रह गर्नु भएको थियो ।



















