काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐनरकानून बन्ने बताउनु भएको छ । नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक जायज माग र सरोकारहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्ने, ग्रहण गर्ने र सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘देश सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको अवस्थामा जनताको मनोबल बढाएर हाम्रो देश हामी बनाउन सक्छौँ, विकास गर्न सक्छौँ भन्नुपर्ने समय आएको छ । यस्तो बेलामा जनतामा नकारात्मक कुरा मात्रै पस्किने अथवा निराशातर्फ जनतालाई धकेल्ने खालका कुरा होइन, आशावादिता र आत्मविश्वास जगाउने काम गर्न जरुरी छ ।’’
प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न देशमा पछिल्लो समय विकास र समृद्धिको लक्ष्यका साथ धेरै राम्रा कामहरु भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अभूतपूर्व विकासलाई आमसञ्चारका माध्यमले अझै राम्ररी जनतासमक्ष पु¥याउन जरुरी छ । हामीले त्यो काम अझै राम्ररी सम्पन्न गर्न सकेका छैनौँ ।” उहाँले नेपाल टेलिभिजन यस दायित्वबोधका साथ सकारात्मक रुपमा अघि बढेर अरूलाई पनि दृष्टान्त प्रस्तुत गर्न सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधान निर्माण, निर्वाचनलगायत महत्वपूर्ण कामहरु भइसकेको बताउँदै देशमा आशाको सञ्चार गराउने काम मिडियाको हो भन्नुभयो । सरकारले विगत दुई वर्षमा धेरै महत्वपूर्ण काम गरेको भन्दै नकारात्मकता र पूर्वाग्रहमुक्त ‘वाचडग’का रुपमा स्वतन्त्र, निष्पक्ष र तटस्थ विचार र समाचार सम्प्रेषणमार्फत नै सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले सरकारले सञ्चारको क्षेत्रमा डिजिटल नेपालको परिकल्पनालाई सार्थक बनाउने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै विज्ञापन ऐन, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलगायत विभिन्न कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिले लोकतन्त्रलाई सङ्कुचित गर्न खोजेको, देशलाई तानाशाहीकरणतर्फ लैजान खोजेको, प्रेसलाई अधिकारबाट सीमित गर्न खोजेको, वाक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेकोजस्ता निरर्थक अर्थहरु लगाएर अहिले चर्चा–परिचर्चा गरिरहेका छन् । हामी पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका लागि सधैँ चिन्तित छौँ र सरकार त्यसका निम्ति प्रतिबद्ध छ भन्ने कुरा फेरि पनि स्पष्ट गर्न चाहन्छु ।”
उहाँले सरकारले राष्ट्रलाई एउटा समृद्ध र आधुनिक राष्ट्र बनाउन चाहेको बताउँदै अरूलाई दुःख दिएर, अरूको मानहानि गरेर, तेजोबध गरेर, वैयक्तिक, पारिवारिक, सामाजिक वा व्यावसायिक हितहरुमा अनधिकृत हस्तक्षेप वा व्यवधान पैदा गरेर वा क्षति पु¥याएर देशको समृद्धि नहुनेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानवअधिकार र मौलिक हक सबैका निम्ति व्यवस्था गरिएको हो । यी कुराहरुलाई ध्यानमा राखेर नै आजको हाम्रो लोकतन्त्र सुदृढ हुन्छ र अगाडि बढ्न सक्छ । यस दिशामा हामी सबैको ध्यान जान जरुरी छ ।”
























