काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राजनीतिक चाउपेजको मसला बनाउन नहुने बताएका छन् । बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले प्रधानमन्त्रीले एमसीसी पास गर्ने स्पष्ट गरिसक्नु भएको र सो परियोजना कार्यान्वयनमा गइसकेको बताए ।
नेकपा केन्द्रीय कमिटिबाट पनि एमसीसी पास हुने बताउँदै मन्त्री बास्कोटाले नेपालको हितका लागि प्राप्त हुने वैदेशिक सहयोग लिने पक्षमा सरकार रहेको स्पष्ट पारे ।
चीनले दिएको ५० अर्ब सहयोग लिएको, भारतले दिएको ७५ अर्ब ऋण सहयोग पनि लिएको बताउँदै मन्त्री बास्कोटाले अमेरिकी सहयोगको विरोध गर्न आवश्यक नभएको बताए ।
नेपाल बाहेक ४९ देशले एमसीसी सहयोग लिएको विषयलाई पनि उदाहरणको रुपमा हेर्नुपर्ने मन्त्री बताउँदै मन्त्री बाँस्कोटाले शीतयुद्धका बेला पनि नेपालले अमेरिका तथा रुसको आर्थिक सहयोग लिएको स्मरण गराए ।
एमसीसी परियोजनामा सैन्य सम्झौता नभएको स्पष्ट गर्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री ओली आफ्नो जीवनको सम्पूर्ण क्षमताको प्रयोग गरेर यहाँसम्म आइपुगेकाले देशको स्वाधिनता र सार्वभौममा सचेत रहेको स्पष्ट पारे ।
ऊर्जा र सडकका लागि प्राप्त सहयोगले देश विकासमा ठूलो योगदान गर्ने बताउँदै मन्त्री बास्कोटाले सुनकोसी करिडोर, एक, दुई, तीन, कोशी करिडोर, कर्णाली करिडोर बढी विद्युत उत्पादन हुने क्षेत्र रहेको बताउँदै नेपालमा उत्पादन भएको विद्युत निर्यातका लागि भारतसँग सहमति समेत भइसकेको दावी गरे ।
बङ्गलादेशसँग ऊर्जा संकट भइरहेको र नेपालसँग उत्पादन क्षमता भएकाले नेपालले खरिद सम्झौता गरेकाले भारतसँग नेपालले गरेको सम्झौता सहयोगी हुने बताए ।
मन्त्री बास्कोटाले भारतसँग ग्याँस पाइपलाइन राख्ने योजना सरकारले स्थगित गरेको बताउँदै अब घर–घरमा ग्याँस चुल्होको सट्टामा विद्युतीय चुल्हो हुनुपर्ने बताएका छन् ।
मन्त्री बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसिसि र चीनको बिआरआई सहयोग परियोजना सामरिक अवधारणा अन्र्तगत नभई आर्थिक प्रगति, ऊर्जा तथा यातायात विकाससँग सम्बन्धित रहेको दावी गरे ।
मन्त्री बास्कोटाले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री नरहेको पनि बताए । उनले अमेरिका र चीनबीच प्रतिस्पर्धा र सहकार्य रहेकाले उनीहरुका रणनीतिको आधिकारिक व्याख्याता नेकपा नभएको बताएका छन् ।
























